Sat. Mar 15th, 2025

नीलकण्ठका सेवाग्राहीले श्रम स्वीकृतिको आवेदन दिन अब काठमाडौं धाउन नपर्ने

धादिङ– धादिङको नीलकण्ठ नगरपालिकाभित्रका सेवाग्राहीले श्रम स्वीकृतिको आवेदन दिन अब काठमाडौं धाउन नपर्ने भएको छ ।

पालिकाबाटै श्रम स्वीकृति दिने सरकारको निर्णयलाई कार्यान्वयनमा ल्याउदै नीलकण्ठ नगरपालिकाले श्रम स्वीकृतिको आवेदन नगरपालिकाबाटै भरिदिने व्यवस्था मिलाएको हो ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको अनलाइन फारम पालिकाको रोजगार सेवा केन्द्रमा गएर भर्न पाइने व्यवस्था गरिएको नीलकण्ठ नगरपालिकाका सुचना अधिकारी लोकनाथ उपाध्यायले जानकारी दिए ।

श्रम स्वीकृतिको लागि अनलाइन आवेदन दिनकै लागि काठमाण्डौ धाउनुपर्ने झन्झट र फाराम भर्दा देखिनै दलालबाट ठगिनुपर्ने समस्याको अन्त्य भएको उपाध्यायले जानकारी दिए । ‘यसअघि श्रम स्वीकृतिको अनलाइन फारम भर्न समेत काठमाण्डौ जानुपर्ने झन्झट हुन्थ्यो, लागत पनि बढी पर्थ्याे । अब नगरपालिकाबाटै सेवा सुरु भएपछि सहज हुने अपेक्षा गरिएको छ’, उनले भने ।

वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा नगरपालिकाबाटै सुरु गरेर वडा कार्यालयहरुलाई पनि जानकारी पत्र पठाइएको पनि सूचना अधिकारी उपाध्यायले बताए ।

नगरपालिकाले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा यही वैशाख १ गतेदेखि दिन थालेको नगरपालिकाका  रोजगार संयोजक रेनु चित्रकारले जानकारी दिइन् ।

अनलाइन आवेदन कार्यका लागि नेपाली नागरिकताको सक्कल, भिसाको कागजात, करार सम्झौता पत्र, सम्बन्धित व्यक्तिको बैंक खाता विवरण, स्वास्थ्य परिक्षण र अभिमुखिकरण तालिमको प्रमाणपत्र, म्यादी जीवन बिमाको कागजात, कल्याणकारी कोषमा रकम तिरेको बैंक भौचर, पासपोर्ट साइजको फोटो २ प्रती  आवश्यक पर्नेछ । यी सबै कागजातको संकलन र रुजु गरेर फारम भरेपछि वैदेशिक रोजगार विभागबाट स्वीकृति लिन सहज हुने चित्रकारले जानकारी दिइन् ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक  नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

About The Author

अन्य समाचारहरु: