धादिङ– जलवायु परिवर्तनको असरले कृषि उत्पादनमा ठूलो क्षती पुगेको विज्ञहरुले औल्याएका छन् । उत्पादन त घटेकै छ अन्न तथा फलफुलको स्वाद पनि हराउँदै गएको भन्दै उनीहरुले जलवायु परिर्वतनको असरलाई रोक्न नसके रैथाने बालीहरुको अस्तित्व मेटिदै जाने बताए ।
कृषि र फलफुल जन्य उत्पादनको स्वाद समेत हराउने अवस्थामा पुगेको बरिष्ठ जल तथा अनुकुलन विषेशज्ञ डाक्टर विनयराज सिवाकोटीले बताए । मंगलबार धादिङबेसीमा आयोजित जनजीवनमा जलवायु परिवर्तनको प्रभावबारे छलफलमा डाक्टर सिवाकोटीले जलवायु परिर्वतनको नकारात्मक असर न्युनिकरणमा ध्यान दिनु आवश्यक रहेको बताए ।
‘मानविय कृयाकलाप जलवायू परिवर्तनको प्रमुख कारण हो । प्राकृतिक रुपमा हुने जलवायू परिवर्तन भने एक सामान्य प्रकृया हो’, बरिष्ठ जल तथा अनुकुलन विषेशज्ञ डाक्टर सिवाकोटी भन्छन्– ‘मानविय परिवर्तनसँगै जलवायूमा परिवर्तन भईराखेको अवश्थामा जलवायू परिवर्तन न्युनिकरण गर्न स्वयं मानव नै परिवर्तन हुनु जरुरी छ ।’
हाईब्रिड प्रजातिका कृषिजन्य उत्पदानको प्रयोग र रासायनिक मलको अत्याधिक प्रयोग बढ्दै जाँदा माटोको उर्वराशक्ति घट्दै गएको र जलवायु परिर्वतनमा समेत अप्रत्यक्ष रुपमा असर पुगेको अगुवा कृषक भक्त बहादुर श्रेष्ठले बताए । ‘केहि बर्ष अगाडीसम्म दश मुरी मकै फल्ने बारीमा पाँच मुरी मकै पनि फल्न छोडिसकेको छ । पुर्खाले अन्न बेचेर घर ब्यबहार चल्थ्यो, बच्चा बच्चि पढाउन पुग्थ्यो, अहिले घरमा खाने अन्न पनि किन्नु पर्ने बाध्यता छ’, उनले भने–‘यो नै कृषि क्षेत्रमा प्रत्यक्ष देखिएको जलवायु परिवर्तनको असर हो ।’
जलवायु परिवर्तनकै कारण आउने भलबाढीले बगाएर लैजादा माटोको उर्वराशक्तिमा ह्रास आएको ज्वालामुखीका अगुवा किसान कृष्ण प्रसाद काप्रीले सुनाए । ‘बैशाखको पहिलो हप्ता छर्नु पर्ने मकै पहाडमा पानी नपरेर कहिले जेष्ठको पहिलो हप्ता, कहिले असार, कहिले चैत्रमा छर्नु पर्ने बाध्यता छ, यो पनि जलवायु परिवर्तनकै कारण देखिएको समस्या हो’, उनले भने ।
अमार्क एसिया–प्रशान्त, रेडियो धादिङ र आईजिइएसले आयोजना गरेको गोष्ठीमा परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे पनि छलफल भएको छ ।