
– राधिका सापकोटा
आज आमाको मुख हेर्ने दिन । मैले मेरो आमा गुमाएको आज २६ वर्ष पुरा भएको छ । म संग मेरी आमाको एउटा पनि फोटो समेत छैन । सायद त्यत्तिवेला फोटो अहिले जस्तो सहज थिएन र मेरी आमाको फोटो कसैले खिचिदिएन वा खिच्ने अवसर प्राप्त भएन । २६ वर्ष भैसक्दा आमाको धमिल अनुहार र आकृति मेरो मानसपटलमा तस्विर बनेर बसिरहेको छ । सायद चित्रकारीता जान्ने भए मेरो मनस पटलमा भएकी मेरी आमालाई म तस्विरमा उतार्ने थिए ।
मेरी आमाले हामीलाई छोडेर जाँदा म करिब १४ वर्षको थिए । म भन्दा सानी करिब ५ वर्ष कान्छी बहिनी (जो अहिले हामीविचमा छैनन, उनको पछि मृत्युभयो) र २, २ वर्ष फरकका अरु ४ दिदि गरेर ६ जना छोरीहरु बुबाको जिम्मा लगाएर आमा जानुभयो । मेरी आमा सायद त्यो बेलाको एक प्रतिनीधि महिला पात्र हुन् जसले समाजको रुढीवादी समाजको हानिकारक मूूल्य र मान्यताको शिकार हुन पुगिन् । छोरा जसरी पनि चाहिने सामाजिक मान्यताका कारण छोरा पाउने आशामा वर्षे पिच्छे जस्तो पाठेघरले आरामै नपाउने गरी ६÷६ जना छोरी उनले जन्माइन् । मेरी आमाले एउटा छोरो पनि जन्माएकी थिइन् । तर, २ वर्षको हुँदा मेरो दाई वितेर जानु भयो रे । कस्तो अचम्म ६ जना जन्मिएका हामीलाई केही नहुने तर आमा, बा र समाजले चाहेको एउटा छोरा त्यो पनि जन्मेर मृत्यु हुने कुराले सायद आमाको मानसिकतामा ठुलै चोट पर्यो होला । म जान्ने हुँदा वा मैले संझने अवस्थाको उमेरमा पुग्दा मेरी आमा रोग र शोकले जिर्ण बनिसकेकी थिइन् ।
बुबाले परिवारका लागि वा के का लागि खाई रहेको आर्मीको जागिर ९ वर्ष खाएर छोड्नु भएको रहेछ । साना साना लालाबाला, पाल्नु, पढाउनु, लेखाउनु र रोगी आमाको उपचार गर्नु सायद बुबाको लागि सबै भन्दा कठिन समय थियो । शोकले, समाजको अनावस्यक दबाबका कारण मेरी आमा सायद मानसिक रुपमा पनि साह्रै गलित र विरामी हुनुहुन्थ्यो । अहिले जस्तो मनोसामाजिक समस्या, डिप्रेसन थाहा थिएन, थियो भने मेरी आमालाई पनि मनोसामाजिक सहयोग चाहिएको थियो । त्यो मानसिक समस्यालाई मेरी आमा चुरोटको धुँवासंग उडाउँथिन् । दिनको करिब एक बट्टा भन्दा बढि चुरोट मेरी आमाले खान्थिन् । अहिले पनि चुरोट तानिरहेका कोही महिला बुढी आमाहरु देख्दा मेरी आमाको संझना आउँछ मलाई ।
हामी चुरोट नखानु भन्थ्यौं तर, उनको पीडाको औषधी हामीसंग थिएन । जुन औषधी उनी चाहिरहेकी थिइन् त्यो संभव भएन । मेरी ठुली दिदिको जेठी छोरी र मेरी आमाको कान्छी छोरी जम्मा ६ महिना जतिमात्रै फरकमा जन्मिएका थिए । आफु आमा बनेपछि मैले मेरी आमाको त्यो प्रसुति पीडा झन धेरै महसुस गरे । मैले प्रसुतिमा जति पीडा महसुस गरे सायद ७ वटा सन्तान जन्माउँदा मेरी आमाले पनि त्यत्ति नै महसुस गरिन् होला । के मेरी आमाको लागि चाँही सन्तान जन्माउनु सजिलो थियो होला र ? तर छोरा हुने आशामा पटक पटक त्यो पीडालाई मेरी आमाले सइन् । हामी गरिवीको यति चपेडामा हुर्कीरहेका थियौं, मेरी आमाले कहिलै राम्रो लाउन र मिठो खान पाइनन् । सायद उनका धेरै इच्छा र आंकक्षा मनबाट बाहिर समेत आएनन् होला ।
मेरी आमाथला परिन् । उनलाई दमको रोग निस्कियो संगसंगै उनलाई स्वासनलीको क्यान्सर समेत भएको रहेछ । जुन कुरा धेरै पछि हामीलाई थाहा भयो । बुबाले आफ्नो खेतबारी बेचेर आमाको उपचार गर्नुभयो तर पनि संभव भएन । २०५३ साल जेठ १९ गते आमाले हामीलाई छोडेर जानुभयो । त्यत्तिवेला छोरीहरुले क्रिया गर्ने चलन नेपालमा थिएन । कहि यस्तो कुरा छलफल समेत भएको थिएन । आमाको दाहासंस्कारपछि क्रिया कस्ले गर्ने भन्ने छलफल चल्यो । म सानै थिए तर पनि राजनीतिक र सामाजिक चेत भएका कारणले होला मैले आमाको क्रिया हामी आफै गर्छौं भने । मेरो प्रस्तावले समाजमा एउटा खालको भुकम्प नै गयो । छलफल शुरु भयो । बुबा करिब करिब हाम्रो प्रस्तावमा तयार हुनुभयो तर समाजको एउटा फैसलाले बुबा र हामीलाई सहयोग गरिरहने राजकुमार दाई समेत पछि हट्नु भयो । समाजले यदि छोरीहरु क्रिया बस्ने हो भने हामी यो घरको दैलो टेक्दैनौ भन्ने फैसला सुनाएपछि राजकुमार दाई र बुबाले हामीलाई भयो छोडिदेउ भन्नु भयो ।
मलाई अहिले पनि याद छ राजकुमार दाईले हामी कम्युनिष्ट पार्टीका कार्यकता हो क्रिया गरेर केही हुन्न जसले गरेनी केही फरक पर्दैन भनेर संझाउन खोज्नुभयो तर, मेरो मन तयार थिएन । तर सानो मेरो अहिले जस्तो विद्रोह गर्न सक्ने हिम्मत साहास थिएन । सायद मेरी आमाले जे डरले ७ पटक गर्भ बोकेर पनि छोरा चाहेकी थिइन् उनको त्यो डर सार्थक भयो । उनी आफ्नो गर्भबाट जन्मिएको सन्तानले आफ्नो क्रिया गरोस् भन्ने चाहान्थिन् तर, उनले जन्माएको छोरा बाचेन, छोरीहरुले त्यो मान्यता पाएनन् । मेरो कान्छो हजुर’बा को छोरा काकाले आमाको क्रिया गर्नुभयो । उहाँलाई धन्यवाद छ तर, आजपनि मेरो मनमा केही प्रश्न उस्तै र उत्तिकै छ । के मेरी आमाको मृत्युले मलाई र मेरो दिदिहरुलाई जति पीडा भएको यियो, क्रिया गर्ने काकालाई त्यो महसुस थियो त ? आमाको गर्भबाट जन्मिएका हामी छोरी नजिक की नाता जोडिएका काका नजिक ? कस्ले गरेको श्रद्धा साच्चैको श्रद्धा हुन्थ्यो होला । एउटा अंगले छोरी भएका कारण हामीले गुमाएको त्यो अवसर मैले जीवनमा कहिलै भुल्न नसक्ने पीडा हो ।
मेरी आमासँग आज माफि चाहान्छु, मेरो क्रिया कस्ले गर्ला भन्ने तिम्रो डर, मेरो गर्भका सन्तानले क्रिया गर्न पाउन्दैनन् की भन्ने तिम्रो शंकालाई त्यत्तिबेला हामीले दुर गर्न सकेनौं । तिम्रो इच्छा पुरा गर्न सकेनौं । तर आमा तिम्रो क्रिया गर्न नपाएको त्यो शोकलाई हामीले शक्तिमा बदल्यौं । म र मेरा २ दिदिहरु समाज परिवर्तनको अभियानमा लाग्यौं । सायद आमाको मृत्युपछि मेरो बुबाले हामीलाई हुर्काउनु भयो, पढाउनु भयो र यो समाजमा छोरीहरु सबै काम गर्न सक्ने क्षमता राख्न सक्छन् भनेर हाम्रो क्षमता विकासमा कुनै पनि रोक नलगाई सधै सहयोग गर्नुभयो । अधवैशे उमेरमा श्रीमती गुमाउनु, छोरी छोरी हुनु त्यो बेलाको समाजको मुुल्य र मान्यतामा रहनु भएको मेरो बुबाले त्यो समाजलाई चुनौति दिँदै मेरो छोरीहरु नै मेरो सबै थोक हो भनेर दोस्रो विवाह नगरी हाम्रो भविष्य नै आफ्नो लक्ष्य हो भनेर लाग्नुभयो जसको कारण आज हामी यहाँ छौं ।
आमा, आज आमाको मुख हेर्ने दिन । सायद आज तिमी हामीसँग भएको भए तिम्रा सबै इच्छा आकंक्षा पुरा गर्न सक्ने अवस्थामा तिम्रा सबै छोरीहरु थिए । हिजो तिमी थियौं हामी पातमा ऐसेलु र काफल भन्दा केही खुवाउन सक्ने अवस्थामा थिएनौं । आज हामी सबै थोक गर्न सक्ने अवस्थामा छौं तर तिमी हामीसँग छैनौं । तिमीले हाम्रो दुःख, पीडा र छोरी हुनुको अपमानित जीवन देखेउ र महसुस गरेउ तर, आज तिम्रा छोरीहरुको परिवर्तन, खुसी, सुख, सानमान र इज्जत तिमीले देख्न पाइनौ । तिमीले छोरी छोरी पाउँदा भोगेको अपमान र म छोरी भएर हुर्कदा भोगेको अपमान र भोगाईले मैले एउटा छोरी जन्माएपछि अर्को सन्तान गर्भमा राख्ने सहास नै गरिन । किनकी मेरो दोस्रो गर्भमा छोरा भयो भने मैले छोरा र छोरीको भिन्नता महसुस गर्न सक्दिन भन्ने महसुस मैले गरे । सायद त्यसैले मेरो पहिलो गर्भ छोरी नै भयो । जसलाई मैले भोगेका सबै भोगाई भन्दा नितान्त फरक, तिमीले भोगेका भोगाई भन्दा नितान्त फरक ढंगले हुर्काइ रहेको छु ।
तिमीले छोरीको आमा भएका कारण अपमानित भएको पीडालाई बोकेर म छोरीको आमा भएबापत सम्मानित हुने प्रयास गरिरहेको छु । त्यसैले आमा तिम्रा भोगाई तिम्रो पीडा र तिम्रो मृत्युले हामीलाई यो समाजको परिवर्तन गर्न एउटा इट्टा थप्न सक्ने योद्धा छोरीहरुको रुपमा विकास गर्यो त्यसको लागि धन्यवाद । तिमीले जन्माएका कारण आज हामी यहाँ छौं । सायद तिमी भएको भए हाम्रो प्रगतिमा सबैभन्दा बढि खुसी तिमी नै हुने थियौं । केही छैन तिमी जस्ता थुप्रै छोरीका आमाहरु अहिले सम्मानित हुने अवस्था सृजना भएको छ । तिमीले जस्तै छोरी गर्भमा आएकै कारण आफ्नो क्रिया गर्ने मान्छे आफ्नो गर्भको नहुने अवस्था करिब करिब अन्त्य भएको छ । हामीले छोरी भएर तिम्रो क्रिया गर्न नपाएको पीडा जीवनभर बोकेर हिड्नुपर्ने बाध्यताको करिब करिब अन्त्य भएको छ । त्यसैले आमा यो आमाको मुख हेर्ने दिन मेरो मानसपटलमा भएको तिम्रो धुमिल स्मृतिलाई मनभित्रबाट अझै स्पष्ट हुने गरी हेर्ने प्रयास गर्ने छु । आमा खुवाउने औंसी आमाको मुख हेर्ने दिन सबै आमाहरुप्रति हार्दिक सम्मान, सलाम र नमन ।