धादिङ– धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा रहेको देउराली माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय)ले टोल टोलमा शिक्षा समन्वय आमा समूह गठन गर्ने अभियान थालेको छ ।
विद्यार्थीको शिक्षण सिकाई उपलब्धी बढाउने उद्देश्यले सेवा क्षेत्रभित्रका अभिभावक आमाहरुलाई सचेत गराउँदै अभियान संचालन गरिएको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको शिक्षण सिकाई सुधार कार्यक्रम अन्तर्गत अभियान संचालन गरिएको प्रधानाध्यापक खिल बहादुर धमलाले बताए ।
अभियान अन्तर्गत मंगलबार नीलकण्ठ–८ को ज्यामिरेमा दुई ठाउँमा शिक्षा समन्वय आमा समूह गठन गरिएको छ । ज्यामिरे माथिल्लो टोलमा उर्मिला श्रेष्ठ र ज्यामिरे तल्लोमा वविता श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समूह गठन गरिएको हो । समूहले विद्यालयमा सम्पूर्ण गतिविधिमा समन्वय गर्न सक्ने, शिक्षक, विद्यार्थी र विद्यालय प्रशासन सँग समेत समन्वय गरेर विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग गर्ने अपेक्षा राखिएको नीलकण्ठ-८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए ।
शैक्षिक सत्र २०८० को भर्ना अभियानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अगुवा अभिभावकहरु सहभागी छन् ।