काठमाडौं – वैशाख १२ गतेको विनासकारी भूकम्पपछि बैंकहरुले प्रवाह गर्ने कर्जा सुस्ताएको छ । भूकम्पपछिका ९० दिनमा वाणिज्य बैंकहरुले २० अर्ब रुपैयाँ मात्रै कर्जा बढाएको राष्ट्र बैंकले जनाएको छ । जबकी यस अवधिमा बैंकहरुको निक्षेप भने १ खर्ब २२ अर्ब रुपैयाँले बढेको छ ।
राष्ट्र बैंकका अनुसार साउन पहिलो सातासम्ममा बाणिज्य बैंकहरुले १४ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १० खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भूकम्पपछि व्यापाररव्यवसाय सुस्ताएकाले ऋण बढ्न नसकेको नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अनलाइनखबरलाई बताए ।
‘भूकम्पअघि निक्षेपको तुलनामा कर्जाको वृद्धिदर बढी थियो, त्यसैले निक्षेप आकषिर्त गर्न बैंकहरुले व्याजदर पनि बढाएका थिए ।’ ढुंगानाले भने -भूकम्पका कारण ऋण बढ्न सकेको छैन तर निक्षेप भने बढिरहेको छ ।
भूकम्पसँगै व्याजदर घट्यो। भूकम्पपछि बैंकहरुले व्याजदर घटाउन थालेको उनले बताए । राष्ट्र बैंकको तथ्यांक हेर्दा पनि चैत महिनाको तुलनामा भन्दा बैशाख र जेठ महिनामा व्याजदर केही घटेको छ । वाणिज्य बैंकहरुले चैत महिनामा निक्षेपमा ४.०७ प्रतिशत व्याजदर दिन्थे भने बैशाखमा ४.०६ प्रतिशत र जेठमा ४.०५ प्रतिशत व्याजदर प्रदान गरेका छन् ।