हेटाैंडा– नेपाली कांग्रेसले बागमती प्रदेश सरकारमा ६ मन्त्रालय दाबी गरेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल संकटमा परेका छन् ।
नेकपा एमालेले सत्ता छाडेपछि शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको कांग्रेसले महत्त्वपूर्ण मानिएको आर्थिक मामिलासहित ६ वटा मन्त्रालयमा दाबी गरेको हो ।
कुल ११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा हाल माओवादी केन्द्र मात्रै सरकारमा छ । एमाले र राप्रपाले २ महिना सरकार छाडेपछि ७ वटा मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले सम्हालिरहेका छन् ।
नयाँ समीकरणमा माओवादी केन्द्रले कांग्रेस र एकीकृत समाजवादीलाई समेट्ने तयारी गरिरहेको अवस्थामा कांग्रेसले महत्त्वपूर्ण मन्त्रालय सहित ६ वटामा दाबी गरेपछि मुख्यमन्त्री जम्कट्टेललाई समस्या परेको हो ।
बागमतीमा ३७ सिट रहेको कांग्रेस र २१ सिट रहेको माओवादी केन्द्र मिले मात्र पनि सत्ता जोगिने अवस्था छ । तर केन्द्रीय समीकरण अनुसार ७ सीट रहेको एकीकृत समाजवादीलाई पनि सत्ता गठबन्धनमा सहभागिता गराउनुपर्ने बाध्यता माओवादीलाई छ ।
एकीकृत समाजवादीले पनि ३ मन्त्रालयको दाबी गरेपछि जम्कट्टेल अझ बढी प्रेसरमा परेका छन् ।