धादिङ– सरकार र व्यवसायीहरुबीच समन्वयको अभावले देशको अर्थतन्त्रमा खस्कदो अवस्था आएको धादिङबाट निर्वाचित सांसदहरुले बताएका छन् । व्यवसायीको निम्ति राज्यले लिएको नीति नै अपरिपक्क भएकोले पनि समस्या उत्पन्न भएको उनीहरुको ठम्याइ छ ।
संघीय सांसद एवं पूर्व श्रम तथा रोजगार मन्त्री डीपी अर्यालले सरकार र नीजि क्षेत्रबीच सहकार्य र समन्वयको कमजोरीले देशमा आर्थिक संकट आइपरेको बताए । शनिबार धादिङबेसीमा धादिङ उद्योग वाणिज्य संघको २९औं साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका अर्यालले राजनीतिक दलका नेताहरुकै इसाहारामा कुनै पनि विषयलाई अल्मल्याउने प्रवित्तिले विकास पछि परेको आरोप लगाए ।
निर्वाचित जनप्रतिनिधिहरुले विजयी भैसकेपछि पनि राजनीतिक खोल फुकाल्न नसकेकोप्रति इंगित गर्दै त्यस्ता जनप्रतिनिधिले जनप्रतिनिधिबाट राजिनामा दिएर मात्रै राजनीतिमा लाग्नुपर्ने जिकिर गरे । जिल्लाको कुनै पनि पालिकाभित्रको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाएका थिए ।
सरकार, व्यवसायी र संचार क्षेत्रबीच आउने गरेको आरोप प्रत्यारोपको बारेमा बोल्दै सांसद अर्यालले भने– ‘म पनि लामो समय उद्योग व्यवसायबाटै राजनीतिमा प्रवेश गरेको हुँ । संचार व्यवसायीको लागि अपरिहार्य हुन्छ । लाखौं खर्च गरेको विज्ञापनले भन्दा व्यवसायको बारेमा पत्रकारले अध्ययन गरेर लेखेको समाचारले ठूलो प्रभाव पार्छ । त्यसैले व्यवसायी र संचार क्षेत्रबीचको सहकार्य जरुरी छ ।’
संघीय सांसद रामनाथ अधिकारीले उद्योगी व्यवसायीको निम्ति राज्यले लिएको नीति अपरिपक्क रहेकोले समस्या आइपरेको बताएका छन् । ‘यो चार महिना विना कारण समय बर्वाद भयो । मुलुक यो ढंगबाट चल्न सक्दैन । तीन महिनामा ९ दिन मात्रै संसद चल्यो । बाकी दिन यसै बित्यो । ६ गतेबाट नियमित संसद चल्नेछ । र व्यसवायीले अहिले खेपिरहेका समस्या समाधान हुनेछ’, उनले भने ।
त्यस्तै नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले भोट हाल्नकै लागि रातारात सदस्य दिने र बनाउने प्रवित्तिले धादिङ उद्योग वाणिज्य संघ कमजोर बन्दै गरेको संकेत गरे ।
नेपाली कांग्रेसका नेता एवं ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)का पुर्व अध्यक्ष रमेश धमलाले बैंकरसहरु आफै उद्योगपति बन्ने प्रवित्ती बढेकोले उद्योगीहरु संकटमा परेको बताए । नीति र बोलिमा मात्रै परिवर्तन ल्याउने व्यवहारमा लागू नगर्ने प्रवित्तिले मजदुर र उद्योगी व्यवसायी बलियो बन्न नसकेको उनको भनाई छ ।
‘व्यवस्थित नीति बनाउन नसक्दा पनि उद्योग धन्दा फस्टाउन नसकेको हो’, धमलाले भने– ‘बैंकबाट कर्जा लिएर, उद्योगमा लगानी गरेर, देशमै रोजगारी सिर्जना गराउने र नाफा कमाउने सपना व्यवसायीले बोकेको हुन्छ तर, बैंकहरुले बढाएको व्याजदरकै कारण अहिलेको अवस्थामा त्यो सम्भव छैन ।’ बैंकहरुले मुद्दतीको व्याजदर घटाएर कर्जाको व्याजदर नघटाए देशमा संचालित उद्योग कारखाना समेत बन्द हुने र देशमा चरम आर्थिक संकट आइपर्ने जिकिर गरे ।