धादिङ – जब विपद आउँछ त्यसबेला बढी आवश्यकता पर्नेलाई पहिलो पटक सहयोग उपलब्ध गराउनु राज्यको दायित्व हो । सरकारी र गैरसरकारी संस्थाहरुले गर्ने सहयोग पनि राज्यले निर्धारण गरेको नीतिको आधारमा हुनु पर्छ तर सबैभन्दा बढी समस्या परेको दलित समूदायमाथि विपदको समयमा विभेद गरेको र राहतमा राजनीतिक गरेको दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले बताउनुभएको छ ।
दलित महिला संघ धादिङको भेलामा शनिबार सहभागी हुँदै संघकी अध्यक्ष सोबले सम्पूर्ण क्षति हुनेलाई धेरै सहयोग गर्नुपर्नेमा यस्तो नभएको गुनासो गरेकी थिइन् ।
जातको आधारमा हुने भेदभाव अत्य हुनुपर्ने बताउँदै भाडा बनाउने, जुत्ता सिउने, लुगा सिउने पेशाका कारण जात बनाएर अछुत बनाएको प्रति कडा आक्रोश व्यक्त गर्दै सबैभन्दा पछाडी पारिएकाहरु दलित समूदायको हितका लागि सबै हातेमालो गरेर लाग्नु पर्ने सोबको धारणा थियो ।
कार्यक्रममा महिला अधिकारकर्मी एवं सहयात्री समाजकी कार्यकारी निर्देशक राधिका सापकोटा, दलित कल्याण संघका बेगबहादुर सुनार, दलित सेवा संघका श्याम मगराती लगायतले दलित समूदायको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । दलित महिलाहरुको भेलाले विमला नेपालीको अध्यक्षतामा ११ सदस्यीय दलित महिला संघ धादिङको पुर्नगठन गरिएको छ ।