धादिङ- जिल्लाकै चर्चित नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन तीन दिन पछि सारिएको छ । क्रियाशिल सबै विद्यार्थी संगठनहरुको सहमतिमा निर्वाचनको मिति चैत ८ गतेका लागि सारिएको हो ।
त्रिविको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आजबाट मौन अवधि सुरु हुने र चैत ५ गते मतदान गर्नुपर्ने थियो । तर, नीलकण्ठ बहुमुखी क्याम्पसमा अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) र प्रजातान्त्रिक विद्यार्थी संगठनले निर्वाचन प्रकृयामा आपत्ति जनाउदै उम्मेदवारी दर्तापछि निर्वाचन प्रमुखको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि नेविसंघ बाहेक अन्य विद्यार्थी संगठनले प्रचारप्रसार पनि गरेका थिएनन् ।
अहिले प्रचार प्रसार गर्ने समयलाई समेत ध्यानमा राखेर निर्वाचनको मिति सारिएको विद्यार्थी नेताहरुले बताएका छन् । जिल्लाको अन्य क्याम्पसहरुमा भने निर्वारित मितिमा नै मतदान हुनेछ ।
नीलकण्ठको स्ववियु सभापतिमा नेवि संघबाट कविराज श्रेष्ठ, अनेरास्ववियुबाट आमोस थापा तामाङ, अनेरास्ववियू (क्रान्तिकारी) बाट श्रीकृष्ण रिजाल, प्रजातान्त्रिक विद्यार्थी संगठनको रोमिका तामाङ मैदानमा छन् ।
उम्मेदवारी दर्ताको दिन नेविसंघबाट मात्रै तीन जनाको उम्मेदवारी परेको भएपनि नेविसंघले अहिले त्यो समस्या सल्टाएर अघि बढेको छ । अनेरास्ववियू (एस)ले भने नेवि संघसंग तालमेल गरेर प्रत्यक्ष तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् ।