Wed. Nov 27th, 2024

नीलकण्ठ नगरपालिकाले ल्यायो डेढ अर्बको बजेट

धादिङ– धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि एक अर्ब ४९ करोड ८२ लाख २९ हजार २ सय ५५ रुपैयाँ संसोधित बजेट सार्वजनिक गरेको छ ।

आइतबार धादिङबेसीमा आयोजित दोस्रो नगरसभाले चालुतर्फ ८७ करोड ७१ लाख २५ हजार ९ सय ९१ र पुँजिगततर्फ ६२ करोड ११ लाख ३ हजार २ सय ६४ रुपियाँको बजेट सार्वजनिक गरेको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा एक करोड ७३ हजार ७० लाख रुपियाँले बढी हो ।

चालु आर्थिक वर्षको आर्थिक विकासतर्फ विनियोजित १२ करोड २ लाख ६४ हजार ४ सय ४६ रुपियाँमध्ये १३.०४ प्रतिशत खर्च भएको नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिए । सामाजिक विकासतर्फ ६१ करोड ७९ लाख ६९ हजार ९ सय ४५ रुपियाँमध्ये ५३.७१ प्रतिशत खर्च र पूर्वाधार तर्फ ५० करोड २१ लाख २६ हजार ७ सय ६४ रुपियाँमध्ये १७.४५ प्रतिशत खर्च भएको उपमेयर विश्वकर्माले बताए ।

विगत ५ वर्षको कार्यकालमा सेवा प्रवाहमा चुस्तता, पारदर्शितासहित जनप्रिय कार्यक्रमहरु सञ्चालन गरेको नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगानाले बताए । हाल दोस्रो कार्यकालमा देखिने खालको दिगो र समग्र विकासका लागि प्रथम नगर अधिवेशनबाट जनमुखी नीति तथा कार्यक्रम थालिएको उनले बताए । ‘सुत्केरीलाई निशुल्क एम्वुलेन्स, विपन्न परिवारलाई रु. १० हजार अन्तिम संस्कार खर्च, विपतमा तत्काल राहत उद्धार, कृषि सहकारी, उद्यमीलाई विशेष अनुदान सहितको कार्यक्रम, पशुविमामा ९० प्रतिशत अनुदान, ७ वटा नयाँ स्वास्थ्य संस्था स्थापना गरी निशुल्क औषधी तथा ल्याव सेवा, शिक्षा क्षेत्रमा विशेष लगानी, सामाजिक संस्था, सहकारी, सामुदायिक, सांस्कृतिक, जातिय र धार्मिक संस्थाहरुलाई मागको आधारमा सहयोग, घुम्ति सेवा मार्फत टोलटोलमा सेवा प्रवाह नागरिक सेवाको नमुना उदाहरण हुन् ।,’ उनले भने ।

तिर्खामुक्त नगरको लागि बृहत खानेपानी योजना, ९५ किलोमिटर नगर चक्रपथ ट्रयाक, धादिङबेशी बजारको करिडोर डि.पि आर गरी निर्माण शुरु गरिएको उनले बताए । नगरपालिकामा करिव ८ सय ५० किलोमिटर सडक निर्माण भएको छ ।

नगरसभाकै अवसरमा नीलकण्ठ नगरपालिकाको लोगो बनाउने नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का प्रेमकुमार श्रेष्ठ, उत्कृष्ठ काम गर्ने कर्मचारी लोकनाथ उपाध्याय र इन्जिनियर विशाल कडेललाई सम्मान गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।

About The Author

अन्य समाचारहरु: