धादिङ– धादिङ अस्पतालमा आइतबारदेखि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा बागमती प्रदेश सरकारले घोषणा गरेको कार्यक्रम आइतबारदेखि औपचारिक रुपमा सुरु भएको हो ।
धादिङ अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु भएको घोषणा गर्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्वास्थ्य क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन कार्यक्रम ल्याइएको बताए । धादिङ अस्पताललाई भौतिक पूर्वाधार र उपकरण सहितको सय वेडको अस्पतालको रुपमा स्तरोन्नती गर्ने समेत मुख्यमन्त्री जम्कट्टेलले प्रतिवद्धता व्यक्त गरे ।
संघीय सांसद रामनाथ अधिकारीले पछिल्लो समयमा धादिङ अस्पतालबाट प्रवाह हुने सेवा प्रशंसनीय बन्दै गएको स्मरण गरे ।
नसर्ने रोग तथा जोखिम पहिचान गरी उचित परामर्श सहित उपचार मार्फत जटिल हुन नदिन मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रमले सहयोग गर्ने अस्पतालका सुचना अधिकारी डाक्टर दिनेश रेग्मीले जानकारी दिए । यो वर्षको लागि ३० वर्षमाथिका अति विपन्न, दलित, जनजाति, लोपोन्मुख, शहीद परिवारलगायत द्वन्द्व पीडित नागरिकले यो सेवा लिन सक्ने छन् ।