Wed. Nov 27th, 2024

प्रचण्डको युटर्नले सरकार गुमाउँदै एमाले

काठमाडौं– एमालेसहितका सात दलको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा तीन नयाँ दलसमेत समेटेर चुनावअघिकै गठबन्धन ब्युँताएपछि एमालेले केन्द्र र प्रदेश दुवैतिरका सरकार गुमाउने सम्भावना निश्चितजस्तै बनेको छ ।

यद्यपि, आज बस्ने सचिवालय बैठकबाट एमालेले तत्काल सरकार छाडेर प्रतिपक्षमा बस्ने वा केही दिन पर्ख र हेरको नीति अँगाल्ने भन्ने निर्णय लिँदैछ ।प्रचण्ड नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेका उपप्रधानमन्त्रीसहित आठ मन्त्री छन् । ११ पुसमा पाँच र ३ माघमा तीनजना नियुक्त भएका हुन् ।

त्यस्तै, भागबन्डामा प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेले सरकारको नेतृत्व गरेको थियो । तर, सुदूरपश्चिममा विश्वासको मत लिन नसकेपछि ठूलो दलको हैसियतमा कांग्रेसले सरकार बनाएको छ । चार प्रदेशमा सरकारको नेतृत्व गरिरहेको एमालेले सबैतिर सरकार गुमाउनेछ । यद्यपि, माओवादीसहित आठ दलीय गठबन्धनमा रहेका दलले विश्वासको मत फिर्ता लिएपनि केही समयका लागि भए पनि प्रदेश १, मधेस प्रदेश र लुम्बिनीमा ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्न सक्नेछ । तर, ३० तिस दिनभित्र विश्वासको मत लिनुपर्नेछ । 

एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रस्ताव गरेका थिए । तर, राष्ट्रिय सहमति हुनुपर्ने अडान राख्दै आएका प्रधानमन्त्री प्रचण्डले आठदलीय गठबन्धनबाट कांग्रेसलाई राष्ट्रपति दिने सहमति गराएपछि ओलीको प्रयास असफल भएको छ । 

एमालेले आधिकारिक निर्णय गरेरै राष्ट्रपतिमा प्रस्ताव गर्न लागेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि आठदलीय गठबन्धनकै एक घटक बनेका छन् । 

About The Author

अन्य समाचारहरु: