काठमाडौ– शिक्षा मन्त्रालयले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई केन्द्रित गरी आयोजना हुने एजुकेसन फेयरको अनुमतिमा रोक लगाएको छ । विदेश अध्ययनलाई निरुत्साहित गर्ने उद्देश्यले मन्त्रालयले स्वीकृतिमा रोक लगाएको हो ।
शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीका अनुसार मन्त्रालयस्तरीय निर्णयबाट अनुमति नलिई फेयर गर्न रोकेको बताए । शैक्षिक परामर्शसम्बन्धी नियमावली बन्दै गरेको र अनुमतिका लागि अर्थ मन्त्रालय पुगेकोले नयाँ कानुन नबनेसम्म फेयर गर्न नदिने निर्णय भएको उनले बताए ।
दर्ता भएका तथा नभएका संस्थाहरूले एजुकेसन फेयरका लागि चासो राखे पनि पछिल्लो समय कसैले अनुमति पाएका छैनन् । प्रशासनले कडाइ गरेपछि फेयरका लागि तयार गरिरहेका संस्थाले समेत तयारी बन्द गरेका छन् । यसअघि दर्ता भएका तथा नभएका संस्थाबाट फेयरका नाममा जथाभावी भएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
नयाँ नियमावलीमा भाषा तथा परामर्शका विषयमा केन्द्र, प्रदेश र स्थानीय तहको अधिकारको विषयलाई स्पष्टसँग तोकिएको छ ।