
काठमाडौं – यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ। आयोगले निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरिसकेको हो।
पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको आयोग स्रोतले जानकारी दिएको छ। राष्ट्रपति निर्वाचनका लागि मतदान स्थल भने नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरलाई बनाइने भएको छ। त्यहाँ दुइटा मतदान केन्द्र रहनेछन्।
आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेश सभा सचिवालयले मतदाताका नाम पठाइसकेका छन्। राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ।