Sat. Mar 1st, 2025

नेपाली क्रिकेटर पहिलो पटक फिक्सिङ काण्डमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।

दुई साताअघि सम्पन्न विवादास्पद नेपाल टी–२० लिगलाई क्रिकेट लाइभ बेटिङ, स्पट फिक्सिङ, म्याच फिक्सिङ, पारिश्रमिक विवाद र आयोजकमध्येको एक पक्ष फरार प्रकरणले गाँजेपछि गृह मन्त्रालयले छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो । प्रारम्भिक अनुसन्धानपछि दुई क्रिकेटर पक्राउ परेका हुन् ।

राजविराजस्थित पब्लिक विन्देश्वरी माविको खेल मैदानबाट पक्राउ गरिएका आदिल र विराटनगरको भिन्तुना होटलबाट समातिएका महबुबलाई प्रहरीले काठमाडौं ल्याइसकेको छ । बारा घर भएका आदिल जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट मुन्ना साह मेमोरियल अन्तरकलेज क्रिकेट प्रतियोगिता खेल्न राजविराज पुगेका थिए ।

महबुब र आदिल पक्राउका विषयमा मंगलबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । सीआईबीका अनुसार यस प्रकरणमा अन्य पनि अनुसन्धान घेराभित्र रहेका छन् ।

‘खेलाडीलाई लाइभ बेटिङ र स्पट फिक्सिङका लागि प्रस्ताव राख्नेहरू व्यक्तिगतभन्दा पनि संस्थागत हिसाबमै देखिएको छ,’ आचार्यले भने, ‘विदेशी खेलाडी र खेलाउनेहरू पनि यसमा संलग्न देखिएका छन् । अनुसन्धान गरिरहेका छौं ।’ फिक्सिङ काण्डमा नेपाली क्रिकेट खेलाडी परेको यो पहिलो घटना हो ।

About The Author

अन्य समाचारहरु: