काठमाडौ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ ।
उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश र उद्योग वाणिज्य सङ्घ खैरहनीको संयुक्त आयोजनामा बुधबारदेखि खैरहनीमा सुरु भएको बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशलाई आत्मनिर्भर बनाउन पकेट कार्यक्रम सञ्चालनको तयारी गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एक पालिका, एक क्षेत्रको पकेट बनाउने गरी योजना ल्याउन लागेका छौँ । कृषि क्षेत्रले आफ्नो स्थान बनाएर आर्थिक गतिविधिलाई अघि बढाउने गरी कार्यक्रमको तयारी गरिएको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो ।
चितवन सहितका छ जिल्लामा बीउ उत्पादनका लागि कार्यक्रम ल्याइने उहाँको भनाइ थियो । अहिलेको व्यापार घाटा घटाउने विषय चुनौतीको विषय रहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्मकट्टेलले उत्पादनमुखी उद्योगमा जोड दिनुपर्ने बताउनुभयो ।