Wed. Nov 27th, 2024

माघीले बढ्यो तरुलको खपत, प्रतिकिलो ५० देखि ७० सम्म बिक्री !

काठमाडौं- माघी नजिकिँदै गर्दा काठमाडौंमा तरुलको खपत बढेको छ। माघीका लागि काठमाडौंको कालीमाटी तरकारी बजारमा १ हजार १ सय २७ टन तरुल भित्रिएको कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताएका छन्।

आज बिहानसम्म १ हजार १ सय २७ टन तरुल बजारमा आइसकेको श्रेष्ठले जानकारी दिए । विभिन्नथरीका तरुल कालीमाटी बजारमा भित्रिन्छन्। ‘तरुल यति किसिमका भन्ने हुँदैन। विभिन्न ठाउँअनुसारका तरुलका नाम हुन्छन्। किसानले फरकफरक किसिमका नाम दिएका हुन्छन्,’ उनले भने।

पाँचऔंले, सिंगाने पिंडालु, दूधे पिंडालु, घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पातले, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल लगायतका तरुल कालीमाटी तरकारी बजारमा किन्न पाइन्छ।

अहिले कालीमाटी तरकारी बजारमा तरुलको औसत मूल्य प्रतिकेजी ६६.६७ रुपैयाँ रहेको छ। जसमध्ये सर्लाहीको तरुल प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्म बिक्री भइरहेको छ। तराईको हात्तीपाइले तरुल प्रतिकेजी ५० रुपैयाँमा बिक्री भइरहेको छ।

पहाडी हात्तीपाइले तरुल प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। घरतरुल ७० देखि ८० रुपैयामा बिक्री भइरहेको छ भने वन तरुल प्रतिकेजी १५० देखि २०० सम्म बिक्री भइरहेको छ।

धादिङ, गोरखा लगायतका जिल्लाबाट पनि कालिमाटीमा तरुल पुगेको छ । स्थानीय बजारहरुमा पनि तरुलको माग बढेको तरकारी व्यापारीहरुले बताएका छन् ।

About The Author

अन्य समाचारहरु: