Fri. Jan 31st, 2025

ग्रामीण संचार सहकारीको अध्यक्षमा सुवास खतिवडा सर्वसम्मत

धादिङ– ग्रामीण संचार सहकारी संस्था लिमिटेड धादिङको अध्यक्षमा सुवास खतिवडा चयन भएका छन् ।

शुक्रबार धादिङबेसीमा सम्पन्न १५ साधारणसभा तथा छैटौं अधिवेशनबाट खतिवडा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । खतिवडा यहि सहकारीले संचालन गर्दै आएको रेडियो धादिङ १०६ मेगाहर्जको संस्थापक स्टेशन मेनेजर हुन् ।

रेडियो धादिङ १०६ मेगाहर्ज संचालन गर्दै आएको सहकारीको उपाध्यक्षमा कल्पना अधिकारी र दामोदर अर्याल, सचिवमा राधिका सापकोटा, कोषाध्यक्षमा कृष्ण प्रसाद लम्साल र सहसचिवमा निरु खरेल चयन भएका छन् ।

अधिवेशनले सहकारीको लेखा सुपरिवेक्षण समिति संयोजकमा रमेश अधिकारी र सल्लाहकार समितिको संयोजकमा गुरु प्रसाद बुर्लाकोटीलाई चयन गरेको छ । अधिवेशनले कुमार प्रसाद पाण्डेको संयोजकत्वमा  ११ सदस्यीय रेडियो संचालन सहयोग समिति पनि चयन गरेको छ ।

साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै धुनिवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य नाफामुखी भन्दा पनि सेवामुखी संस्थाको रुपमा सुरु भएको सहकारीले संचालन गरेको रेडियो धादिङ मार्फत अहिले पनि निरन्तर अघि बढेको बताए । सुरुवातको समयमा भएको उत्साहलाई निरन्तरता दिदै सहकारीलाई अझ व्यवस्थित र सहकारीले संचालन गरिरहेको रेडियोलाई दरिलो बताउन सकिने बताए ।

२०६३ सालमा ग्रामीण संचार सहकारी संस्था लिमिटेड स्थापना गरी २०६४ सालदेखि रेडियो धादिङ १०६ मेगाहर्ज संचालन गरिरहेको छ । आगामी दिनमा टेलिभिजन प्रसारणमा ल्याउने तयारी थालिएको सहकारीका निवर्तमान अध्यक्ष एवं नेकपा एकीकृत समाजवादी पार्टीका नेता गुरु प्रसाद बुर्लाकोटीले बताए ।

नवनिर्वाचित अध्यक्ष खतिवडाले जिल्लाको अभिभावक संचार माध्यमको रुपमा रेडियो धादिङ अगाडी बढाउन आफू प्रतिवद्द भएर लागिपर्ने बताएका छन् ।

About The Author

अन्य समाचारहरु: