काठमाडौँ — त्रिभुवन विश्वविद्यालय बीबीएस चौथो वर्षका परीक्षार्थी नतिजाको व्यग्र प्रतीक्षामा थिए । यहीबीच त्रिवि परीक्षा नियन्त्रण कार्यालयले दमक बहुमुखी क्याम्पसको परीक्षार्थी सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५१ सम्म ‘रिसर्च मेथडलजी’ विषयको उत्तरपुस्तिका हराएको पत्तो पायो । त्यसपछि नतिजा रोकेर कार्यालयले क्याम्पससँग समन्वय गरी गएको पुस २३ गते पुनः परीक्षा लिएको छ ।
जसका कारण गत वर्ष पुस २० बाट माघ ४ सम्म परीक्षा दिएर नतिजा कुरिरहेका स्नातक तहका विद्यार्थी थप निराश भएका छन् । दुई दिन अगाडि सूचना दिएर परीक्षा दिन लगाइएको छ र जाँचमा कति सामेल भए भन्ने यकिन छैन,’ नेविसंघ त्रिवि समितिका निवर्तमान सचिव योगन्द्र रावल भन्छन्, ‘त्रिविले विद्यार्थीको भविष्यमाथि बारम्बार खेलबाड गर्दै छ । दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’
माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी त्रिविका अध्यक्ष प्रदीप भट्टले परीक्षा नियन्त्रक पुष्पराज जोशीले गम्भीर लापरबाहीको जिम्मेवारी लिएर तत्काल नतिजा प्रकाशन गर्ने प्रतिबद्धता जनाएको बताए ।
‘परीक्षा नियन्त्रक पुष्पराज जोशी स्वयं उपस्थित भएर जाँच गराइएको छ,’ उनले भने, ‘पुनः परीक्षा लिएको दस दिनभित्र नतिजा प्रकाशित गराउँछु भनेर नियन्त्रकले प्रतिबद्धता जनाउनुभएकाले हामी धैर्य गरी बसेका छौं ।’