काठमाडौं– चिनी उद्योगीहरूले आफूखुशी चिनीको मूल्य बढाएका छन्। भारतबाट चिनी आयातमा पूर्ण प्रतिबन्ध हुँदा र सरकारले चिनीको मूल्य नतोक्दा उद्योगीहरूले आफूखुशी प्रतिकिलो ६ देखि १० रुपैयाँसम्म बढाएको पाइएको हो ।
नेपाल सरकारले भारतबाट आयात हुने वस्तुहरूमा पूर्ण प्रतिबन्ध लगाउँदा चिनीमा पनि पूर्ण प्रतिबन्ध लागेको छ । ‘चिनी भारतबाट आयत हुँदा पनि शतप्रतिशत मार्जिन राखेर ल्याउनुपर्ने उद्योगीहरूको दबाब थियो’, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने, ‘पूर्ण प्रतिबन्ध लगाउने दबाब पनि उद्योगीहरूकै हो।’
भारतबाट चिनी नआएपछि नेपालका चिनी उद्योगले प्रतिकिलो ८ देखि १० रुपैयाँ बढाएका छन्। त्यसको प्रत्यक्ष प्रभाव बजारमा परेको छ।
सरकारको बेवास्ताले व्यापारीले आफूखुशी मूल्य बढाउँदा यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। चिनी लगायत तरकारी, फलफूल, माछामासु, दालचामल नागरिकको दैनिक जीवनसँग जोडिएका वस्तु हुन्।