Fri. Jan 31st, 2025

माघे संक्रान्तिको दिन धुवाकोटमा १७ हल गोरु जुधाइने

धादिङ– माघे संक्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाँकोटस्थित भंगेरीमा १७ हल गोरु जुधाइने भएको छ ।

नीलकण्ठ नगरपालिकाको सहयोगमा संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्र धुवाकोटले गोरु जुधाईसंगै कृषि तथा हस्तकला प्रदर्शनी समेत गर्न लागेको छ । बुधबार धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको तयारीबारे जानकारी गराएको हो ।

परम्परादेखिनै गोरु जुधाउँदै आएको धुवाँकोटको भंगेरीमा यस वर्ष १७ हल गोरु जुधाइने केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए। धुवाँकोटमा परम्परादेखिनै गोरु जुधाइने भएपनि केही समय रोकिएको गोरु जुधाई २०७१ सालदेखि व्यवस्थित रुपमा आयोजना गर्दै आएको श्रेष्ठले बताए। ‘गोरु जुधाई कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आइरहेका छौँ,’ श्रेष्ठले भने, ‘यस वर्ष ढोला, झार्लाङलगायतबाट पनि गोरु ल्याइएको छ ।’

धादिङको धुवाकोट ऐतिहासिक महत्वका ९ ओटा कोटमध्ये एउटा महत्वपूर्ण कोट हो। विशेष गरि धुवाकोटमा पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रका सदस्य सुमन अधिकारीले बताए ।

गोरु जुधाउनको लागि पहिलो, दोस्रो र तेस्रो समूहमा विभाजन गरिएको छ। गोरुको उमेर, साइज र क्षमता हेरेर चार समुहमा विभाजन गरिएको केन्द्रका अध्यक्ष श्रेष्ठले बताए ।

पहिलो समूहमा ३ हल गोरु, दोस्रो समूहमा ६ हल र तेस्रो र चौथो समुहमा ४/४ हल गोरु रहेका छन्। पहिलो समूहको विजेता गोरुको धनीले १२ हजार, उपविजेता गोरुको धानीले १० हजार नगद पाउनेछन् । दोस्रो समूह विजेता र उपविजेताले १० हजार र ८ हजार, तेस्रो समूहले ८ हजार र ६ हजार पाउनेछन् । त्यस्तै चौथो समुहको विजेता गोरुको धनीले ४ हजार र उपविजेता गोरुको धनीले २ हजार नगद पाउने अधिकारीले जानकारी दिए ।

गोरु जुधाइने स्थान नीलकण्ठ नगरपालिका वडा नं.१४ धुँवाकोट भंगेरी धादिङबेसीबाट १२ किलोमिटरको दूरीमा पर्छ ।

कृषि कर्मको लागि पालिएका गोरुलाई माघे संक्रान्तिको दिन जुधाएर मनोरञ्जन लिने धादिङ, नुवाकोट र रसुवा जिल्लाको यो सदियौं पुरानो परम्परा हो। बझाङे राजा जयपृथ्वी बहादुर सिंहको मावली गाउँ तारुका आउँदा भान्जालाई देखाउनको लागि शुरु गरिएको गोरु जुधाउने परम्परा पछिल्लो वर्षहरुमा धादिङको थुप्रै स्थानहरूमा सुरु भएको छ ।

About The Author

अन्य समाचारहरु: