
काठमाडौं- फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।
अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो । तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।
लोरिस फ्रान्सको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । लोरिसले २०१२ देखी फ्रान्सको कप्तानी सम्हाल्दै आएका थिए ।
उनको कप्तानीमा फ्रान्सले कतार विश्वकप २०२२ को फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको थियो ।
फ्रान्सले लोरिसकै कप्तानीमा सन् २०१८ को रुस विश्वकप जितेको थियो भने उनकै कप्तानीमा २०१६ मा घरेलु मैदानमा भएको युरोपियन च्याम्पियनसिपमा फ्रान्स उपविजेता भएको हो । लोरिसले सन् २००८ नोभेम्बरमा उरुग्वेविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।