काठमाडौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी एमाले माओवादीबीचको सत्तागठबन्धनमा सहभागी हुने संकेत देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने प्रष्ट धारणा नबनाउँदै बागमती र गण्डकी प्रदेशमा सरकार बनाउन देखिएको एकीकृत समाजवादीका सांसदहरू सहभागिताले गठबन्धनमा सामेल हुने संकेत गरेको हो ।
यो दुबै प्रदेशमा एकीकृत समाजवादीका सांसदहरु सत्ताकै कित्तामा उभिन पुगेका छन् । बागमती प्रदेशका एकीकृत समाजवादीका सात जना सांसदहरुले सोमबार सत्ता गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्मकट्टेललाई समर्थन गरे भने गण्डकीका एकमात्र सांसद दिपक मनाङेले पनि एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई समर्थन गरे ।
दुई प्रदेशमा सत्ता गठबन्धनलाई साथ दिएको एकीकृत समाजवादीले केन्द्र सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने मंगलबार मात्रै निर्णय गर्ने जनाएको छ । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका प्रदेश सांसद कृष्णप्रसाद खनालले केन्द्रको संकेत अनुसार नै गठबन्धनको सरकारलाई समर्थन गरेको बताएका छन् ।
यसैबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार प्रतिनिधि सभामा बोल्ने क्रममा पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेका छन् । उनले आफ्नो पार्टी राजनीतिक स्थिरताको पक्षमा रहेको भन्दै छिटोछिटो सरकार परिवर्तनको पक्षमा नरहेको बताए । अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना दिँदै विगतको शिक्षाबाट पाठ सिकेर अघि बढ्न आग्रह समेत गरेका थिए ।