काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रचण्डलाई भेट्न अध्यक्ष नेपाल बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबार पुगेका हुन्। ललितपुरमा पार्टी निकट युवा संघको कार्यक्रममा पार्टीबाट जितेका जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रममा बोलेर नेपाल सिंहदरबार पुगेका हुन्।
दुई नेताबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले समाजवादीलाई सरकारमा आउन आग्रह गर्दै आएका छन्। तर हालै सम्पन्न स्थायी कमिटी र पोलिटब्युरो बैठकले यसबारे कुनै निर्णय गरेको छैन।
अध्यक्ष नेपालले सरकारमा सहभागी हुन कसैले औपचारिक निम्तो नगरेको बताउँदै आएका छन्। उनले सरकारलाई समर्थन दिने नदिनेबारे पुस २६ सम्म निर्णय पुग्ने पनि बताएका छन्।