धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका किसानहरुलाई व्यवसायिक कृषि तथा पशुपंक्षी पालन सम्बन्धी तालिमसँगै पशुस्वास्थ्य शिविर संचालन गरिएको छ ।
हामी सबैको कृषि तथा बहुउद्देश्य सहकारी संस्था र त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर २ को संयुक्त आयोजनामा कृषकहरुलाई तालिम दिनुका साथै पशुस्वास्थ्य शिविर संचालन गरिएको हो । आइतबार र सोमबार संचालन भएको तालिममा गाउँपालिकाभित्र कृषि पेशा र पशुपालन गर्दै आएका एक सय २५ कृषकहरु सहभागी थिए भने शिविरमा भैंसी, बाख्रा, बंगुर, कुखुराको स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको छ ।
नीलकण्ठ-७ सुनौलाबजारस्थित कर्णेश्वर प्राविधिक विद्यालय र त्रिपुरासुन्दरी गाउँपालिकाको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा नेपाल पशु स्वास्थ्य प्राधिकरण संघले औषधि सहयोग गरेको सहकारीका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । पालिकाभित्रका कृषि र पशुपालनलाई व्यवसायिक बनाउन सहयोग गर्ने उद्देश्यले तालिम तथा पशुस्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
तालिम र शिविरको सोमबार एकसाथ समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष देवराज धरेलले सहकारीले छोटो समयमा प्रशंसायोग्य काम गरेकोले आगामी दिनमा हातेमालो गर्दै जाने बताए । त्यस्तै त्रिपुरासुन्दरी–२ का वडा अध्यक्ष कृष्ण बहादुर खत्री र वडा नम्बर ३ कमल बहादुर थापाले सहकारीको मर्मलाई आत्मसाथ गर्दै वडा र समग्र पालिकाभित्रको कृषि तथा पशुपालनमा सहकारीले खेलेको भुमिका अन्य सहकारी संस्थाहरुका लागि पनि सिकाइयोग्य भएको बताए ।