Mon. Mar 24th, 2025

सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई आज गृह मन्त्रालयबाट सम्बोधन गर्दै उहाँले जनताबाट गुनासो नआउने गरी सेवा प्रवाह गर्न तथा शीतलहरलगायत विपद्जन्य घटनाबाट नागरिकको सुरक्षा गर्न निर्देशन दिनुभएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गृह प्रशासनको सेवा प्रवाह चुस्त पार्न, जाडो बढेसँगै शीतलहर तथा अन्य प्राकृतिक विपद्जन्य घटनाबाट नागरिकको जीउ ज्यान जोगाउने गरी काम गर्न निर्देशन प्राप्त भएको जानकारी दिनुभयो । गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न तथा अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न पनि भन्नुभएको उहाँले बताउनुभयो ।

“सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, अवैध चोरी नियन्त्रण तथा विपद् व्यवस्थापनकै विषयमा मन्त्रीज्यूबाट आवश्यक निर्देशन भएको छ”, बैठकमा सहभागी काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्ययले थप्नुभयो, “संक्षिप्त निर्देशनमा मन्त्रालयबाट गर्नुपर्ने काम भए लिखित रुपमा ल्याउन पनि भन्नुभएको छ ।”

उपाध्ययका अनुसार गृहमन्त्रीले तराईमा शीतलहर र उच्च हिमाली जिल्लामा हिमपातका कारण हुने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री लामिछानेले बढ्दो चिसोका कारण कुनै पनि नागरिकले ज्यान गुमाउने परिस्थिति बन्न नदिन एवं विपद् व्यवस्थापनका तयारीमा आवश्यक समन्वय तथा व्यवस्थापनमा मन्त्रालयले पहल गर्ने जानकारी पनि गराउनुभएको उहाँको सचिवाले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: