धादिङ– आठौं धादिङ महोत्सव पाँच करोड बराबरको कारोबार गर्दै सकिएको छ । महोत्सवमा फेन्सी तथा लत्ताकपडा, होटल व्यवसाय, कृषिजन्य उत्पादनलगायतको व्यापारबाट पाँच करोड बराबरको कारोबार भएको महोत्सव आयोजक समिति उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष विष्णु थपलियाले जानकारी दिए ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने जवाङको सुन्तला महोत्सवको आकर्षण बनेको छ ।
पुष ७ गतेबाट सदरमुकाम धादिङबेसीमा जारी महोत्सवको आइतबार भव्य समारोहसहित समापन गरिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै धादिङ क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद रामनाथ अधिकारीले धादिङको विकास र समृद्धिको लागि उद्योग धन्दाको विकास, कृषिजन्य उत्पादन र पर्यटकीय क्षेत्रको प्रचारमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । महोत्सवले स्थानीय उत्पादनको बिक्रि वितरण तथा बजारीकरणमा टेवा पुग्ने भन्दै अधिकारीले आगामी दिनमा पनि यस्ता मेला तथा महोत्सवहरुको आयोजना गर्न उद्योग वाणिज्य संघले नेतृत्व गरिरहन आग्रह गरे ।
महोत्सवमा राखिएका स्थानीय उत्पादनले धादिङलाई चिनाएको छ । अधिकारीले भने– रुविभ्यालीको रुवि, जवाङको सुन्तला, सल्यानटारको मास, खरीको पिँडालु, कृषि जन्य उत्पादन, गलैंचा, जडिबुटी तथा धादिङका उत्पादनहरुको विक्री तथा बजारीकरणमा सहयोग पुगेको महशुस भएको छ ।’
कार्यक्रममा बागमती प्रदेशका सांसद गोविन्द लम्साल, स्थानीय सरकारका प्रमुखहरु, राजनीतिक दल र संघसंस्थाका प्रमुख एवं् प्रतिनिधिहरुले महोत्सवले जिल्लाको विकास र समृद्धिमा टेवा पुग्ने बताएका थिए ।