Sun. Mar 23rd, 2025

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा

काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा मङ्गलबार र बुधबार काठमाडौँमा बसेको दुईदिने कार्यसम्पादन समितिको बैठकले आबद्ध सङ्घ, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरी आगामी वर्ष जेठमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष आचार्यको संयोजकत्वमा राष्ट्रिय समितिका सबै, महिला तथा युवा अध्यक्ष तथा संरचनामा रहेका आबद्ध सङ्घ, ट्रेड युनियन कांगे्रस प्रदेश तथा जिल्ला अध्यक्ष रहेको महाधिवेशन मूल तयारी समिती गठन गरेको छ ।

उक्त बैठकले सदस्यता फाराम तथा शुल्क सङ्कलन २०७९ फागुन मसान्तभित्र, आबद्ध सङ्घको राष्ट्रिय महाधिवेशन २०७९ चैत मसान्तभित्र, ट्रेड युनियन कांगे्रस जिल्ला अधिवेशन २०८० वैशाख ९ र प्रदेश अधिवेशन वैशाख १८ गते सम्पन्न गर्ने निर्णय गरेको महासचिव योगेन्द्र कुँवरले जानकारी दिनुभयो ।

विसं २०८० वैशाखदेखि सरकारले अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामजिक सुरक्षामा सहभागी गराउने निर्णय भइसकेको सन्र्दभमा स्थानीय तहमा श्रमिकको पञ्जीकरण तथा श्रमिकको समस्या समाधानार्थ स्थानीय तहमा श्रम सल्लाहकार समिति गठन गराउन सम्बन्धित निकायमा अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगाडिको ट्रेड युनियन कांग्रेसको बैठकको निर्णयविरुद्ध रहेर अलग्गै पार्टीमा आबद्ध भएको भन्दै ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सल्लाहकारद्वय रिता खनाल र कल्पना अधिकारीलाई सल्लाहकार पदबाट तथा अनौपचारिक क्षेत्रकी उपाध्यक्ष आशासिंह राठौरलाई उपाध्यक्ष पदबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

About The Author

अन्य समाचारहरु: