सुर्खेत– रास्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानको लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएकी छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको नेपाल पत्रकार महासंघको साधारणसभा उद्घाटन सभालाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिता क्षेत्रमा देखिएको समस्या यथोचित समाधान गराउन सरकारका अंगहरुलाई ध्यानाकर्षण समेत गराएकी छन् । ‘पत्रकार र पत्रकारिता जगतले थुप्रै समस्या भोगिरहेको छ । सम्बन्धित क्षेत्रले यथोचित समाधान गरोस्’, रास्ट्रपति भण्डारीले भनिन्-‘म सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’
पत्रकारितालाई स्वच्छ, निश्पक्ष र विश्वसनीय बनाएर आवाज विहिनको आवाज बनाउन आवश्यक रहेको उनले बताइन् । पत्रकारिताको मर्यादा र विश्वसनियतालाई जोगाएर अघि बढ्न पत्रकारहरुलाई पनि सुझाएकी छन् । ‘पत्रकारको समस्या तपाईं पत्रकारलाई नै थाहा छ समाधानको उपाय पनि तपाईहरुलाई थाहा छ, सार्वजनिक निकायलाई सुसूचित बनाउने र सूचना संकुचित हुन नदिनु पत्रकारको जिम्मेवारी हो’, राष्ट्रपति भण्डारीले भनिन् ।
सामाजिक संजालले पत्रकारितालाई छायाँमा पार्दै गएको प्रति इङ्गित गर्दै भण्डारीले पत्रकारले यस्ता चुनौतीलाई संयमतापुर्वक ढंगबाट चिर्दै संचार जगतको भुमिकालाई विश्वसनीय बनाउन आवश्यक रहेको बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिककाे सूचनाकाे हक प्रत्याभुत गर्ने महत्वपूर्ण अंग पत्रकार भएकाेले तीनै तहका सरकारले यस क्षेत्रकाे उचित सम्मान गर्नु पर्ने बताए । शाहीले कर्णाली प्रदेश सरकार पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाे रक्षाका लागि प्रतिवद्ध रहेकाे बताए ।
नेपाल पत्रकार महासंघका पुर्व सभापति एवम् वरिष्ठ पत्रकार हरिहर बिरहीले राज्य संचालनको पद्धति संविधानको भावना विपरीत भइरहेको बताए ।
उनले भने- ‘नयाँ सस्कृतिको निर्माणको लागि संचार माध्यमले महत्वपूर्ण भुमिका खेल्न सक्छ । नैतिक मूल्य मान्यता र आचार संहिताको पालना गराउन पत्रकार महासंघले नेतृत्वदायी भुमिका खेल्न सक्ने छ ।’ संविधानको रक्षा र कार्यान्वयनमा लागि पर्नेहरुले नै संविधानको पालना गर्न नसकेको प्रती दुख व्यक्त गरे ।
त्यस्तै महासंघका पुर्व सभापति एवं वरिष्ठ पत्रकार किशोर नेपालले संचार माध्यममा सरकारले गरेको विभेदप्रति दुख व्यक्त गरे । ‘काठमाडौंमा संचालित संचार माध्यम र विकट वस्तीबाट सञ्चालित संचार माध्यमले पाउने सेवा सुविधा बराबर हुनुपर्छ । यसतर्फ गम्भीर हुनु जरुरी छ’, उनले भने ।
साधारणसभाको अवसरमा नेपाल पत्रकार महासँघले विभिन्न बिधामा पत्रकारहरुलाई पुरस्कृत तथा सम्मान पनि गरेको छ ।