काठमाडौं – नवनिर्वाचित सङ्घीय सांसदहरूले शपथग्रहण गरेका छन्। नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबार शपथ गराएकी थिइन्।
सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमालले २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ ग्रहण गरेको जानकारी दिए। बाँकी सांसदले नेपाली भाषामा शपथग्रहण गरेका हुन्।
नेकपा एमालेका सांसद सराज अहमद फारुकीले उर्दुमा, नेकपा ९माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले तामाङमा र सांसद दुर्गा राईले कोई–कोयू मातृभाषामा शपथ ग्रहण गरेका हुन्।
यसैगरी, जनता समाजवादी पार्टीका सांसदहरु प्रदीप यादव र रामसहाय प्रसाद यादवले भोजपुरी, रन्जुकुमारी झाले मैथिलीमा शपथ ग्रहण गरेको सहायक प्रवक्ता धमालाले जानकारी दिए।
त्यस्तै, नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले खस भाषा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अरुणकुमार चौधरी, रन्जिता श्रेष्ठ चौधरी, गङ्गाराम चौधरी डगौराले थारु भाषामा शपथग्रहण गरेका हुन्।
साथै, स्वतन्त्र सांसदहरु लालवीर चौधरीले थारु र किरणकुमार साहले संस्कृत भाषामा शपथग्रहण गरेका छन्।