Wed. Nov 27th, 2024

आठौँ धादिङ महोत्सव आजबाट सुरु, बागमतीका मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्दै

धादिङ– आठौँ धादिङ महोत्सव आजबाट सुरु हुँदैछ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ धादिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दिउँसो ३ बजे औपचारिक उद्घाटन गर्नेछन् ।

पुष ७ गतेदेखि १७ गतेसम्म चल्ने महोत्सव कोरोना महामारीपछिको पहिलो हो ।

‘जिल्लाको सास्कृतिक विविधताको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पुर्‍याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष विष्णु प्रसाद थपलियाले बताए । अध्यक्ष थपलियाले भने –‘पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक जागरिक र पर्यटन क्षेत्रको प्रवर्द्धनमा महोत्सवले टेवा पुर्‍याउनेछ ।’

स्थानीयस्तरमा उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री, जिल्लाभित्र पाइने जडिवुटीको प्रदर्शनी तथा विक्री वितरणलाई  प्राथमिकता दिइने संघका महासचिव तिलक सिंखडाले जानकारी दिए । ‘आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री–सूचना प्रविधी सम्बन्धी जानकारी, अटोमोवाईल्सको प्रदर्शन तथा विक्री, हेलिकोप्टरबाट जिल्लाको पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकन गर्न सकिनेछ’ उनले भने ।

महोत्सवमा १० करोडको कारोबार हुने र ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । आयोजकका अनुसार महोत्सवमा एक सय २० वटा विभिन्न स्टलहरु रहेका छन् । महोत्सव जिल्ला सदरमुकामस्थित खुल्ला मञ्चमा हुनेछ ।

About The Author

अन्य समाचारहरु: