काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयनका लागि सात दिनको समयसीमा राखेर राजनीतिक दलहरूलाई दाबी पेस गर्न आइतबार आह्वान गरेसँगै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकसी सुरु भएको छ । दुवै नेताले पहिले आफैं प्रधानमन्त्री हुन दाबी गरेपछि सहमति जुटाउन गठबन्धनमै सकस उत्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आइतबार आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने संस्थागत निर्णय लिएको छ । संसद्को ठूलो दलको हैसियतले आफैंले नेतृत्व लिँदा ‘प्राकृतिक हुने’ कांग्रेसको तर्क छ । कांग्रेसलाई सरकार निर्माणका लागि सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रको ३२, एकीकृत समाजवादीको १०, लोकतान्त्रिक समाजवादीको ४ र राष्ट्रिय जोमोर्चाको १ सिटले पुग्दैन ।
कांग्रेसको ८९ सहित सत्ता गठबन्धनमा १ सय ३६ सिट छ । सत्ता गठबन्धनलाई बहुमतका लागि थप २ सिट अपुग छ । त्यसका लागि देउवाले ६ सिट रहेको जनमत पार्टी र ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन फकाइरहेका छन् ।
देउवाले अन्तर्राष्ट्रिय शक्तिको विश्वास आर्जन गर्ने, पार्टीभित्र संसदीय दलको नेता बन्ने र सरकार गठनका लागि बहुमत जुटाउने गृहकार्य एकसाथ अघि बढाइरहेकै बेला माओवादी अध्यक्ष दाहालले शनिबार बालुवाटार पुगेरै यस पटक सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने प्रस्ताव गरेका थिए । त्यसबाट झस्केका देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाटै कांग्रेसको नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गराएका हुन् ।
‘प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये सदस्य पदमा सर्वाधिक सिट हासिल गरेको दलको हैसियतले कांग्रेसले संविधानको व्यवस्थाबमोजिम सरकारको नेतृत्वको दाबी गर्नु स्वाभाविक हुन्छ,’ केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा भनिएको छ, ‘यसर्थ, कांग्रेस पार्टीको नेतृत्वमा आगामी सरकार गठन गर्नका लागि गठबन्धनमा रहेका दलहरू लगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्न यो बैठक निर्णय गर्छ ।’