Sat. Mar 1st, 2025

विश्वकप २०२२: मेस्सीलाई अन्तिम अवसर, रोजाइमा एमबाप्पे पनि

कतारमा जारी २२ औँ विश्वकप फुटबलको उपाधिका लागि आइतबार साँझ साबिक विजेता फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना भिड्दै छन्। नेपाली समयअनुसार साँझ पौने ९ बजे सुरु हुने खेलमा जसले जिते पनि तेस्रो पटक विश्व च्याम्पियन बन्नेछन् ।

अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको थियो । सन् १९७८ मा पहिलो पटक विश्व विजेता बनेको अर्जेन्टिना त्यसपछि १९८६ मा दोस्रो पटक उपाधि जित्न सफल भएको थियो । सन् १९९० र २०१४ को संस्करणमा फाइनल पुगे पनि उपविजेता मै सीमित बन्यो । अर्जेन्टिना समग्रमा छैटौँ पटक विश्वकपको फाइनल खेल्दै छ ।

यता सन् १९९८ मा पहिलो पटक फाइनल पुग्नेक्रममै विश्व विजेता बनेको फ्रान्स २००६ को संस्करणमा पनि उपाधि नजिक पुगेको थियो तर फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भयो। फ्रान्स चौथो पटक विश्वकप फाइनलमा भिड्न लागेको हो। अर्जेन्टिनालाई पराजित गर्न सकेको अवस्थामा फ्रान्स विश्वकपको उपाधि रक्षा गर्ने ६० वर्षयताको पहिलो टोली बन्ने छ। अन्तिम पटक यस्तो सफलता सन् १९६२ मा ब्राजिलले प्राप्त गरेको थियो ।

आइतबारको खेलमा धेरैको नजर लियोनल मेस्सी र केलियन एमबाप्पेमाथि हुने छ। ७ पटकका फिफा वर्ष खेलाडी मेस्सीका लागि विश्व च्याम्पियन बन्ने यो अन्तिम अवसर हो। उनले यो आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन्। मेस्सीकै कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा पराजित भएको थियो।

सन् २०१८ मा फ्रान्सले उपाधि जित्दा एमबाप्पे सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका थिए। यसपटक क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न चुकेका उनी गोल्डेन बुटको पनि दौडमा छन्। संयोग के छ भने मेस्सी र एमबाप्पे दुवै व्यावसायिक फुटबल एउटै क्लबबाट खेल्दै आएका छन्।

अर्जेन्टिना र फ्रान्स अन्तिम पटक सन् २०१८ को विश्वकप प्रिक्वाटरफाइनलमा भिडेका थिए। त्यस खेलमा फ्रान्स ४-३ गोलले विजयी भएको थियो। एमबाप्पेले त्यस खेलमा २ गोल गरेका थिए भने मेस्सी गोलविहीन रहेका थिए। फ्रान्ससँग हालसम्म भएका १२ भिडन्तमा अर्जेन्टिनाले ६ जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ।

About The Author

अन्य समाचारहरु: