
काठमाडौँ — फुटबलका वादशाह मानिने ब्राजिलका पूर्वखेलाडी पेलेले भनेका छन्, ‘विश्वकप फुटबल भनेको राम्रा र उत्कृष्ट खेलाडीहरूको भिन्नता छुट्टिने अवसर हो ।
यो उत्कृष्ट खेलाडीको परीक्षण हुने स्थल हो ।’ तर पछिल्ला केही दशकयता विश्वकप फुटबल खेलाडीको प्रस्तुति पर्गेल्ने अवसरमा मात्रै सीमित छैन । धेरै देशले यो अवसरलाई आफ्नो बढ्दो वैभव र आर्थिक–सामाजिक उन्नतिको प्रदर्शनस्थल पनि बनाउने गरेका छन् ।
सन् २००० यता आयोजित पाँचमध्ये ३ विश्वकप बढ्दा आर्थिक शक्तिहरू– दक्षिण कोरिया, ब्राजिल, दक्षिण अफ्रिका र कतारमा आयोजना हुनु संयोग मात्रै नभएर यी प्रतियोगिताले ल्याउने आर्थिक लहरप्रतिको आकर्षणको प्रमाण पनि हो ।
६ वटा विश्वकपमा प्रत्यक्ष सहभागी भएका खेल–बजार विश्लेषक जिम ओनिलले फिफाको विश्वकप आयोजक छनोटका पछिल्ला रोजाइ आर्थिक विश्वव्यापीकरण र उदाउँदा आर्थिक शक्तिहरूमा केन्द्रित रहेको विचार ‘द वर्ल्डकप एन्ड द इकोनमी’ लेखमा व्यक्त गरेका छन् ।
विश्वकप एउटा उम्दा खेल अवसर त हुँदै हो, आयोजनाका लागि हुने आर्थिक–राजनीतिक खेलहरूले पनि यस अवसरलाई चर्चाको केन्द्रमा राख्ने गरेका छन् ।