
दोहा – कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो रुँदै विश्वकपबाट बिदा भएका छन्।
शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए। पहिलो हाफमै पोर्चुगल १(० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई मैदान प्रवेश गराएका थिए।
तर रोनाल्डो र पोर्चुगलले गोल फर्काउन नसक्दा टोली हार बेहोर्न पुग्यो। रोनाल्डो खेल सकिएलगत्तै गहभरी आँसु लिएर ड्रेसिङ रुमतर्फ लागेका थिए। कतार विश्वकपमा उत्कृष्ट सुरुवात गरेका रोनाल्डोले समूह चरणको तीनै खेल सुरुवाती रोजाइमा खेलेका थिए।
घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डो विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने पहिलो पुरुष खेलाडी बनेका थिए। दोस्रो खेलमा उरुग्वेविरुद्ध ब्रुनो फर्नान्डेसको गोललाई आफ्नो माग गरेका कारण उनी चर्चामा आएका थिए। तेस्रो खेलमा भने उनलाई परिवर्तन गर्दाको व्यवहारका कारण प्रशिक्षक सान्तोस रुष्ट बनेका थिए।