Sat. Mar 1st, 2025

विश्वकप फुटबलको सेमिफाइनलमा क्रोसिया र अर्जेन्टिनाको भेट

क्रोसिया र अर्जेन्टिना फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ।

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना र पाँचपटकको विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमीफाइनलमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा ४-३ को जित निकाल्दै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अन्तिम चारमा क्रोएसियासँगको भेट पक्का भएको छ । अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ।

नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा धकेलिएको थियो। 

अर्जेन्टिनाका लियोनल मेसी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे। अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार बाहिरिएको थियो।

पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गर्दा भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा चुके।

एक समय २-० को आरामदायी अग्रतामा रहेको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले अन्तिम ७ मिनेटपछि नाटकीय पुनरागमन गरेको थियो। इन्ज्युरी समयको दशौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुगेको थियो। अतिरिक्त समयमा पनि गोल नहुँदा खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।

पेनाल्टीबाटै क्रोसिया अन्तिम चरणमा
पाँचपटकको विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को सेमीफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार राति कतारको राजधानी दोहास्थित एजुकेसन सिटी रंगशालामा भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै क्रोएसिया अन्तिम चारमा पुगेको हो।

पेनाल्टी सुटआउटमा ब्राजिलका रोद्रिगोको प्रहार क्रोएसियाका गोलकिपर लिभाकोभिकले विफल पारेका थिए भने मार्किन्होसको प्रहार पोलमा लागेको थियो। ब्राजिलका लागि कासिमेरो र पेड्रोले मात्र गोल गरेका थिए। क्रोएसियाका भने सबै खेलाडी पेनाल्टीमा सफल भए।

त्यसअघि निर्धारित र ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

About The Author

अन्य समाचारहरु: