
धादिङ– धादिङमा जिल्ला स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिता सुरु भएको छ । जिल्ला भलिवल संघ धादिङले सदरमुकाम धादिङबेसीमा प्रतियोगिताको आयोजना गरेको हो ।

बुधबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल र नवनिर्वाचित प्रदेश सांसद गोविन्द लम्सालले प्रतियोगिताको उद्घाटन गरेका छन् । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको पहिलो खेलमा ज्वालामुखी गाउँपालिका (बि) र दोश्रो खेलमा गल्छी गाउँपालिका र तेश्रो खेलमा सिद्दलेक गाउँपालिकाको टिमले विजय सुरुवात गरेको छ ।

प्रतियोगितामा विभिन्न गाउँपालिकाहरुका गरी नौं टिम सहभागी छन् । धादिङमा जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना गरिएको यो पहिलो पटक हो । स्थानीय क्लव तथा समूहरुले भने बेला बेला स्थानीय स्तरमा भलिवल प्रगियोगिता गर्दै आएका थिए ।