काठमाडौ – पत्रकार रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनाएर राजनीतिमा हाम फाल्ने घोषणा गरे लगत्तै क्लबहाउसमा त्यो पार्टीको हैसियत र भविष्यबारे ताता बहसहरू भए।
हामीले एक अर्कालाई सोध्यौं – यो पार्टीको गन्तव्य र उद्देश्य के चरित्र र विचार के ?
अर्थात् पार्टीको चरित्र निर्धारण गर्ने उसको डिएनए के हो ?
उतिखेर हामीलाई ती विषय मूलतः समाजशास्त्रीय हिसाबले महत्वपूर्ण छन् जस्तो लागेको थियो।
तर हालै सम्पन्न आम चुनावको प्रारम्भिक नतिजासँगै र खास गरी सार्वजनिक संवादमा चर्को स्वर रहेको सहरी मध्यम वर्गमा उक्त पार्टीले पारिरहेको प्रभाव हेर्दा त्यो बहसको तत्कालीन र दीर्घकालीन राजनीतिक महत्व समेत हुने अवस्था बन्दै गएको छ।
क्लबहाउसका त्यस्ता बहसमध्ये एकमा त्रिविका सह–प्राध्यापक डा. श्रीराम खड्काले उठाएका दुइटा प्रश्नबाट रास्वपाको चरित्र चित्रणको प्रक्रिया सुरू गरौं :
एक, रविले बनाउँदै गरेको नयाँ दलले वास्तवमा स्वतन्त्रता खोजेको केबाट हो यो व्यवस्थाबाटै पो हो किरु त्यसको सैद्धान्तिक प्रष्टता खै ?
दुई, नयाँ पार्टीको पहिचान रवि लामिछाने बनेका छन्। मानिसले त्यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीु भन्दा रवि लामिछानेको पार्टी भनेर बढी चिन्छन्। तर हामीले त व्यक्ति सर्वेसर्वा बन्ने राजतन्त्र फालेर विधिको सर्वोच्चता हुने नयाँ व्यवस्था ल्याएको होइन र ?
त्यसलाई कार्यान्वयन गर्ने मुख्य एकाइका रूपमा रहेका राजनीतिक दलहरू आफैं विधिमा आधारित हुनु पर्दैन ?