हेटौंडा : बागमती प्रदेशको निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै सदनमा नेपाली कांग्रेसले छलाङ मार्दा नेकपा एमाले तेस्रोमा खुम्चिएको छ।
मंसिर ४ गते भएको निर्वाचनमा बागमती प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवै सदनमा सबैभन्दा धेरै सिट जित्दै कांग्रेसले छलाङ मार्दा एमाले तेस्रोमा खुम्चिएको हो। बागमती प्रदेशमा प्रतिनिधिसभाको ३३ र प्रदेशसभाको ६६ वटा निर्वाचन क्षेत्र छन्। जसमा प्रदेशको एक क्षेत्र बाहेक सम्पूर्ण जिल्लाको मतगणना सकिएको छ।
प्रदेशका १३ जिल्लामध्ये दोलखामा पुनःमतदान हुने भएको छ। दोलखाबोहक अन्य ३२ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा कांग्रेसले १३ स्थानमा जीत हात पारेको छ। २०७४ को निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभामा ४ सिट मात्रै जितेकोमा यो निर्वाचनमा उसले सो संख्यालाई ३ गुणाले बढाएको छ। कांग्रेसले काठमाडौंमा ५ तथा सिन्धुली, रामेछाप, रसुवा, नुवाकोट, भक्तपुर, ललितपुर, धादिङ र सिन्धुपाल्चोकमा एक–एक सिट जितेको छ।
कांग्रेसले काठमाडौंको १, ३, ४, ५ र १० नम्बर क्षेत्र, ललितपुर–२, धादिङ–२, नुवाकोट–२, सिन्धुपाल्चोक–२, सिन्धुली–२ र भक्तपुर–२ नम्बर क्षेत्रमा चुनाव जितेको हो। त्यस्तै कांग्रेसले एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा र रामेछापमा पनि चुनाव जितेको छ।
०७४ मा बाम गठबन्धन हुँदा प्रदेशको आधा भन्दा बढी सिटमा जितेको एमाले भने अहिले ४ सिटमा खुम्चिएको छ। सो समयमा एमालेले बाम गठबन्धन हुँदा प्रदेशको २१ वटा सिटमा जितेको थियो। एमाले काठमाडौं, मकवानपुर, ललितपुर, काभ्रेमा एकएक गरी ४ स्थानमा निर्वाचित भएको छ।