Wed. Nov 27th, 2024

अवैध गाँजासहित पृथ्वी राजमार्गबाट तीनजना समातिए

धादिङ– अवैध लागुऔषध गाँजासहित धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ चिसापानीबाट तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पृथ्वी राजमार्ग हुँदै काठमाण्डौबाट भैरहवा तर्फ जाँदै गरेको ना ५ ख ७३९६ नम्बरको ट्रकलाई चेकजांच गर्दा ट्रकभित्र रहेको जेब्रा झोलामा ६ किलो गाँजा फेला परेको हो ।

ट्रकमा लुकाईछिपाई बोकेको अवैध लागुऔषध गाँजासहित ट्रक चालक रुपनदेही जिल्ला तिलोतमा नगरपालिका वडा नम्बर १ का ३२ वर्षीय तिल बहादुर थारुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए ।

ट्रकमा गाँजा हालेर मोटरसाइकलमा सवार गर्ने दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा गाँजा पठाएर आफू मोटरसाइकलमा हिड्ने धादिङ गल्छी गाउँपालिका -६ का २३ वर्षीय  बिमल तामाङ र सोही मोटरसाइकलमा सवार गल्छि गाउँपालिका-५ का २५ वर्षीय सुनिल तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले बिमल र सुनिलले प्रयोग गरेको बा.प्र.०२-०३१ प०६८० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । ट्रक चालकसहित पक्राउ परेकाहरुको अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए।

About The Author

अन्य समाचारहरु: