
धादिङ– ‘के हुँदै छ सर ? कस्ले जित्यो ? कति भोट गनियो सर ? अहिले को अगाडि छ ?’ मतगणना केन्द्रबाट बाहिर देखा पर्ने जो कोहीलाई बाहिरबाट सोधिने गरेको प्रश्न यही हो ।
मत गणनास्थलबाट बाहिर जो देखा पर्दन्, ‘आयो.. आयो..’ भन्ने हर्सित आवाज ठूलै स्वरमा सुनिन्छ, दशौं प्रश्नहरु तेर्सिन थाल्छन् । भित्र भइरहेको मतगणनाको परिणाम सुन्न आतुर दलका समर्थकहरुलाई भोक र निन्द्रको भन्दा मत परिणामको चिन्ता छ । रुविभ्याली गाउँपालिकाको मतगणना केन्द्र बाहिर परिणाम कुरेर बसेका समिर गुरुङ भन्छन् ‘भोट त हालियो, जित्ला कि नजित्ला सुन्न आएको हो । जित्छ कि भनेर कुरिरहेको छु ।’
यो मतगणना स्थल बाहिर करिब दुई सय जनाले घेरेर बसेका छन् । झार्लाङ, सत्यदेवी, दार्खा देखि परिणाम थाहा पाउन यहाँ आएका छन् । यूवायुवती र बृद्धबृद्धा सबैको सहभागिता उत्साहजनक छ । सोमबार दिउसो मतगणना सुरु भएदेखि नै कुरिरहेका छन् नीलकण्ठ–१२ का हरि लम्साल पनि । अघिल्लो चुनावको मतगणना भन्दा यस पटक उनलाई छुटटै उत्सुकता छ । लम्साल भन्छन् ‘भित्र मत गणना भइरहेको छ, मत परिणाम सुन्न यही बसिरहेको छु ।’ सबैको हारजित सुनेर मात्रै अरु काममा लाग्ने लम्सालले सुनाए ।
रुविभ्यालीका दिल बहादुर घलेले भोट खसालेको यो पहिलो पटक हो । २०७० र २०७४ सालमा भोट हाल्न पाएन् । त्यत्ति चासो पनि लागेन । अहिले चिनेकै मान्छे प्रदेशसभाको उम्मेदवार भएकाले सोमबारदेखि गणनास्थल आसपासमै खानेबस्ने गर्दै परिणाम कुरिरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले एक हजार पाँच सय मत गनेपछि सार्वजनिक गर्छ । एक पटक सुनेपछि अर्काेपटक सुन्न करिब २ घण्टा कुर्नुपर्छ । ‘तै पनि यो ठाउँ छोडेर अन्त जानै मन छैन’ घलेले भने ।
मत गणना भइरहेका स्थानमा स्पिकर छ । गणनास्थलका कर्मचारीले त्यसैबाट परिणाम सुनाउँछन् । परै बसेर पनि सजिलै सुन्ने व्यवस्था मिलाइएको छ । बसेरीका खड्ग बहादुर अधिकारी भन्छन् ‘मत गणना सुरु भयो, कसैले छोडेकै छैनन् । मतपेटिका आइपुगेदेखि भोकभोकै पनि नतिजा सुन्न बसेका छन् ।’ हातहातमा मोबाइल भएपनि आफैले सुनेको जस्तो विश्वास नभएकाले गणनास्थलमै कुरेर बसेको उनले सुनाए ।
सदरमुकाम धादिङबेसीस्थित जिल्ला समन्वय समितिको भवनमा मत गणना भइरहेको छ । मत गणना स्थलमा पनि परिणाम कुर्नेको उत्साह उस्तै छ । नीलकण्ठ नगरपालिका–८ का सरोज कोइरालालाई पनि पहिलेको चुनावको भन्दा अहिलेको चुनाव बेस्सरी लागेको छ । काठमाडौमा संचालन गर्दै आएको व्यवसाय नै छोडेर जिल्ला समन्वय समितिको अगाडि मतपरिणाम कुरेर बसेका उनी भन्छन् ‘मैले भोट दिएको मान्छेले पाएको मत परिणामको नजिता कस्तो आइरहेको छ भनेर सुन्न बसिरहेको छु ।’
रुविभ्यालीका दिल बहादुर र बसेरीका खड्ग बहादुर जस्तै हरेक मत गणना भइरहेको स्थलमा एक सय देखि ३ सय हुन्छन् । उनीहरु प्राय आफ्ना समर्थक र आफुले मतदान गरेको उम्मेदवारले पाएको मत सुन्न चासोका साथ गणनास्थलमा पुगेरै परिणाम सुन्न लालाहित भएका हुन् ।