धादिङ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धादिङका एक लाख ४८ हजार ८ सय ३९ जनाले मतदान गरेका हुन् । दुई निर्वाचन क्षेत्र र चार प्रदेश क्षेत्र रहेको धादिङमा दुई लाख ६५ हजार नौ सय ९६ जना मतदाता छन् ।
स्थानीय तहको निर्वाचनमा ७४ दशमलव ९३ प्रतिशत मत खसेकोमा अहिले ५५ दशमलव ९५ प्रतिशत मात्रै मत खसेको छ । राजनीतिक दलहरुबीच भएको गठबन्धन र तालमेलले मतदाताहरुमा उत्साह कम देखिएको नीलकण्ठ नगरपालिकाका मतदाता शिव सापकोटाले बताए ।
अघिल्ला निर्वाचनहरुलाई मतदाताले पर्वकै रुपमा लिन्थे । शिशु च्यापेका सुत्केरी, हिँडडुल गर्नै नसक्ने बृद्धबृद्धाहरु पनि आफन्त र साथीभाईको साहारा लिएर विहान झिसमिसेमै मतदान केन्द्र पुगेको देखिन्थ्यो । मतदान गर्ने लाइन खचाखच हुन्थ्यो । तर, यो पटकको निर्वाचनमा न लाइनमै मतदाता खचाखच देखिए न मतदान गरेर फर्किदा उनीहरुको अनुहारमा खुसी भेटियो । बस नेतालाई गाली गर्नेहरु नै धेरै भेटिए ।
राष्ट्रिय पर्वकै रुपमा रौकन दिने निर्वाचनले यस पटक गाउँ वा शहर कतैपनि मतदाताको ध्यान तान्न सकेन । जो कोही नेता पनि आफु जित्नकै लागि गठबन्धन गरेकोले मतदातामा उत्साह नदेखिएको उनीहरुको बुझाई छ ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार संख्या धेरै हुने भएकोले पनि मतदातामा उत्साह बढी देखिने र प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार थारै हुने भएकोले पनि उत्साह कम देखिने दलका नेताहरु बताउँछन् । प्रचारप्रसारकै समय छोटो भएकोले सबै मतदाता भेट्न नपाएकोले पनि मतदातामा उत्साह कम देखिएको धादिङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले बताए ।
हुन त दशै तिहार जस्ता ठूला पर्व मानेर भर्खरै काममा फर्किएका मतदाता छिट्टै घर फर्किन नपाएका कारण मतदानमा सहभागिता कम देखिनु एउटा पाटो छ । मुख्य पाटो भनेको चाही सत्तामा पुग्नकै लागि दलहरुबीच भएको गठबन्धन र तालमेल नै मतदातामा वितृष्णा देखिनुको मुख्य कारण हो ।