Thu. Nov 28th, 2024

धादिङमा ५५.९० प्रतिशत मतदान, सोमबार विहानबाट गणना सुरु

धादिङ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धादिङमा कुल ५५.९५  प्रतिशत मत खसेको छ । जिल्लामा २ लाख ६५ हजार नौ सय ९६ जना मतदाता रहेको मध्ये एक लाख ४८ हजार ८ सय ३९ जनाले मतदान गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार ७० हजार एक सय ६३ जना महिला, ७८ हजार ६ सय ७५ जना पुरुष र अन्य १ जनाले मतदान गरेका छन् । जिल्लामा रहेका एक सय १४ वटै मतदान स्थलमा शान्तिपूर्ण मतदान भएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकारी सन्तोष श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगले तोकेको समयअनुसार साँझ ५ बजेसम्म भएको मतदानको मत पेटिका गणनास्थलसम्म ल्याइनेक्रम जारी छ । धादिङ क्षेत्र नम्बर १ भित्रका मत पेटिका गल्छी गाउँपालिकास्थित साना सहरी विकास आयोजनाको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिदैछ । क्षेत्र नम्बर २ भित्रका मतदानस्थलहरुबाट पनि जिल्ला सदरमुकाम धादिङबेसी स्थित जिल्ला समन्वय समितिको भवनमा मतपेटिका संकलन भइरहेको छ ।

धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट वस्तीको मतदान स्थलबाट मतपेटिका सदरमुकाम ल्याउन ढिलो हुने भएकोले सोमबार विहानबाट मात्रै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत स्वीकृति पराजुलीले बताए । रुविभ्याली गाउँपालिकामा पर्ने विकट वस्तीबाट मोटर चल्ने ठाउँसम्म मतपेटिका ल्याउन चार घण्टासम्म पैदल हिड्नुपर्ने र त्यसपछि गाडीमा सदरमुकाम ल्याउन करिब पाँच घण्टा लाग्छ ।

About The Author

अन्य समाचारहरु: