Thu. Nov 28th, 2024

धादिङ–१ मा प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा रोचक चिडन्त

शंकर श्रेष्ठ
धादिङ
– मंसिर ४ गते हुने चुनाव धादिङका दुइ वटै क्षेत्रमा निकै चाखलाग्दो बनेको छ । दुई प्रतिनिधि सभा क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको धादिङमा ६७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा बागमती प्रदेशका मुख्यमन्त्री एवं् नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि प्रसाद त्रिपाठीबीचको प्रतिष्पर्धा सबैको चासोको विषय बनेको छ ।

प्रदेशसभा १ मा हुने त्रिपक्षीय भिडन्त र प्रदेशसभा २ मा बागमती प्रदेशकै अर्थमन्त्री शालिकराम जम्कट्टेल र पछिल्लो समय मात्रै राजनीतिमा देखिएका इन्जिनियर गजेन्द्र थपलियाबीचको लडाइले यो क्षेत्रको चुनाव अझ रोचक बनेको छ ।

अझ रोचक त के छ भने, कुनैबेला पार्टी र निर्वाचनमा समकक्षी रहेका पाण्डे र त्रिपाठी अहिले फरक पार्टीबाट मैदानमा छन् । सिनियारिटीको कुरा गर्ने हो भने त्रिपाठी पाण्डेका विद्यार्थी हुन् ।

पञ्चायत देखि नै संसदीय राजनीतिमा सक्रिय पाण्डे पटक पटक सांसदमा निर्वाचित भएका छन् । त्रिपाठी २०७४ को निर्वाचनबाट विजयी सांसद हुन् । २०४३ सालमा जिल्ला पञ्चायतको सभापति भएका राजेन्द्र प्रसाद पाण्डे त्यसयता २०४८, ५१, ५६, ७० मा प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यस्तै २०७४ मा भने पाण्डे बाग्मती प्रदेशसभाका लागि सांसदमा निर्वाचित भए । २०६४ सालको संविधानसभा निर्वाचनमा भने नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलसँग पराजित भएका थिए ।

यो पटक भने पाँच दलिय गठबन्धन भएका कारण पाण्डे र जम्कट्टेल एकअर्काका सारथी बनेका छन् । बागमती प्रदेशको एउटै मन्त्री परिषदमा रहेका पाण्डे गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार छन् भने जम्कट्टेल प्रदेशसभा २ का उम्मेदवार छन् ।

पटक पटक संसदीय निर्वाचनमा विजयी भएका पाण्डे यस पटक नेकपा एमालेका नेता भुमी त्रिपाठीसँग टक्करमा छन् । त्रिपाठीलाई राप्रपाको समर्थन रहेको छ । विगतका निर्वाचनको नतिजालाई आधार मान्दा धादिङ एमालेको पकड रहको क्षेत्र हो । पार्टी विभाजनपछि यहाँका प्रभावशाली नेता पाण्डे नै नेकपा एकीकृत समाजवादीमा लागेपछि एमालेलाई धक्का लागेको विश्लेषण भैरहेको छ ।

हुन त यस क्षेत्रमा भर्खरै जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमेडियन हिमेश पन्त पनि प्रतिपर्धामा छन् । युवाहरुको भोट पन्तलाई जाने संभावना पनि प्रवल देखिन्छ । तर, सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेका पाण्डेले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । संविधान, समावेशी लोकतन्त्र र संघीयताको रक्षाका लागि आफूले मत मागेको र त्यहि कामको लागि मिलेर जनताको बीचमा आएको पाण्डे बताउँछन् ।

गत निर्वाचनमा माओवादी केन्द्रको साथ लिएर चुनाव जितेका नेकपा एमालेका भुमी त्रिपाठी यस पटक पनि जित दोहो¥याउने दाउमा छन् । २०७४ सालको निर्वाचनमा भारी मतान्तरले विजयी भएका त्रिपाठी यस पटक पनि विजयी हुनेमा विश्वस्त छन् । तर, एमाले सिंगो रहँदा माओवादीको समेत साथ लिएर चुनाव तिजेका त्रिपाठीलाई यो पटक त्यत्ति सहज देखिदैन । गठबन्धनसँग भएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेबाटै फुटेर बनेको नेकपा एकिकृत समाजवादीको मतलाई उछिन्न त्रिपाठीलाई निकै चुनौती देखिन्छ । तर पनि त्रिपाठीले हिम्मत हारेका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेर चुनावी मैदानमा रहेका त्रिपाठी आफ्नो जित सुचिश्चित भएको बताउँछन् ।

धादिङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमेडियन हिमेश पन्त, जनता समाजवादीबाट नोरमान तामाङ, जन समाजवादीबाट पुष्कर सेढाई, मंगोल नेशनल अर्गनाईजेशनबाट सुमन तामाङ, नेपाल मजदुर किसान पार्टीबाट विश्व अम्मर महर्जनले उम्मेदवारी दिएका छन् । त्यस्तै पुराना कम्युनिष्ट नेता उत्तमराज कँडेलसहित पाँच जना स्वतन्त्र रुपमा चुनावी प्रतिस्पर्धामा छन् ।

यो क्षेत्रमा १ लाख ३२ हजार ३ सय ५४ मतदाता छन् । ती मध्य प्रदेशसभा १ मा ७३ हजार १ सय ५७ मतदाता छन् भने प्रदेशसभा २ मा ५९ हजार १ सय ५७ मतदाता छन् । यस अघिका निर्वाचनहरुमा खसेको मतको आधारमा कांग्रेसले २० हजार भोट दावी गर्दै आएको छ । माओवादीले १५ हजार, एकिकृत समाजवादीले १० हजार मत आफ्नो पक्षमा रहेको दावी गर्छ । गत निर्वाचनमा एमाले सिंगो रहँदा माओवादी समेतको गरी ४९ हजार दुई सय २१ मत त्रिपाठीले प्राप्त गरेका थिए । अहिले समाजवादीले दावी गरेको १० हजार मत पनि गत निर्वाचनमा त्रिपाठीले पाएको मतभित्रै पर्दछ ।

राप्रपाले दावी गर्ने ५ हजार मत समेत गरी एमालेका उम्मेदवार त्रिपाठीले करिब ३० हजार मत पाउने अनुमान लगाउन सकिन्छ भने गठबन्धनका उम्मेदवार पाण्डेले माओवादी, कांग्रेस र समाजवादीसमेत गरी ४५ हजार मत पाउने आँकलन छ । यसरी हेर्दा एमालेका त्रिपाठी भन्दा गठबन्धनका साझा उम्मेदवार पाण्डे झण्डै १५ हजार मतले अगाडि देखिन्छन् ।

धादिङ जिल्लाको कुल २ लाख ६५ हजार ९ सय ६६ मतदाता यो क्षेत्रमा १ मा १ लाख ३२ हजार ३ सय ५४ मतदाता छन् । ती मध्य प्रदेशसभा १ मा ७३ हजार १ सय ५७ मतदाता छन् । भने प्रदेशसभा २ मा ५९ हजार १ सय ५७ मतदाता छन् ।

यस्तो पनि छ जोड घटाउ
२०७९ सालकै स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतलाई पनि आधार मान्न सकिन्छ । यो निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा गठबन्धन भएपनि वडा तहमा दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका थिए ।

यो क्षेत्रमा भएका वडाहरुबाट गत स्थानीय तह निर्वाचनमा कांग्रेसका वडा अध्यक्षले १९ हजार ४ सय २३, माओवादी केन्द्रका वडा अध्यक्षले २४ हजार ९ सय २८ र एकिकृत समाजवादीका वडा अध्यक्षले ८ हजार ८ सय ३६ मत पाएका थिए । नेपा एमालेका वडा अध्यक्षले ३७ हजार ७ सय २८ र राप्रपाका वडा अध्यक्षले १ हजार २ सय २२ मत पाएका थिए । अहिले गठबन्धनमा रहेका दलका वडाअध्यक्षहरुले ल्याएको कुल मत जोड्दा ५३ हजार १ सय ८७ हुन आउँछ भने एमाले र राप्रपाको मत जोड्दा ३९ हजार मत हुन आउँछ ।

स्थानीय तहमा वडा अध्यक्षहरुले पाएकै मतलाई आधार मान्दा पनि गठबन्धनका साझा उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे नेकपा एमाले र राप्रपाको तालमेलका उम्मेदवार भुमी त्रिपाठी भन्दा १४ हजार १ सय ८७मतले अगाडि देखिन्छन् । यो तथ्यांकमा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार, मंगोल नेशनल अर्गनाइजेशनलगायतले पाएको मत जोडिएको छैन ।

प्रदेशसभा १ मा त्रिपक्षीय प्रतिष्पर्धा
प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा १ को निर्वाचन अझ रोचक बनेको छ । सत्ता गठबन्धनको तर्फबाट यो प्रदेशमा नेपाली कांग्रेसका मदुकुमार श्रेष्ठ, नेकपा एमालेबाट रमेश आचार्य र एमालेबाटै रुष्ट बनेर स्वतन्त्र उम्मेदवारी दिएका नेत्रराज पौडेलबीच त्रिपक्षीय प्रतिष्पर्धा हुँदैछ । एमालेबाटै टिकटको आकांक्षी रहेका पौडेलले गठबन्धनका श्रेष्ठ र एमालेका आचार्यलाई चुनौती दिइरहेका छन् ।

गठबन्धनको साथ लिएर बलियो बनेका श्रेष्ठ र पकड क्षेत्र मान्दै आएको एमालेले उठाएको उम्मेदवार आचार्यबीचको प्रतिष्पर्धामा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले चक्मा दिने अनुमान मतदाताले गरेका छन् ।

एमालेका पुराना र विकासप्रेमी नेताका रुपमा चिनिएका पौडेलले अधिकांश भोट आचार्यको नै काट्ने देखिन्छ । आचार्यले पावरकै भरमा पार्टी अध्यक्ष केपी ओलीबाट टिकट ल्याएपछि रुष्ट बनेका पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पौडेलको पक्षमा एमालेका जिल्ला तहका नेताहरु नै खुलेर चुनावी घरदैलोमा हिँडेका छन् ।

प्रदेशसभा २ मन्त्रीसँग इन्जिनियरको टक्कर
प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा २ मा पनि रोचक भिडन्त हुने देखिएको छ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनले नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेललाई अघि सारेको छ भने एमालेबाट इन्जिनियर गजेन्द्र थपलिया चुनावी मैदानमा छन् ।

झण्डै दुई तिहाइ बहुमतको सरकार हँुदापनि केपी शर्मा ओलीले पटक पटक संसद विघटन गरेको विरुद्ध जम्कट्टेलले आवाज उठाउँदै आएका छन् । यस पटकको निर्वाचनमा संविधानको रक्षा र मुलुकमा स्थिरता गठबन्धनले दिने बताउँदै आफ्नो पक्षमा मतदाताले मत जाहेर गर्नेमा ढुक्क छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका जम्कट्टेल २०७४ को निर्वाचनमा प्रदेशसभा २ बाट विजयी भएका थिए । उनका प्रतिष्पर्धी थपलिया नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विकास विज्ञ सल्लाहकार थिए । माओवादी केन्द्र शान्ति प्रकृयामा आएदेखि नै धादिङको राजनीतिमा जम्कट्टेल परिचित अनुहार हुन् भने थपलिया यस क्षेत्रका लागि नयाँ हुन् । मतदाताले परिचित अनुहार नै रोज्छन् की नयाँलाई अवसर दिन्छन् हेर्न भने बाँकी छ ।

About The Author

अन्य समाचारहरु: