काठमाडौँ — प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४ सय १२ उम्मेदवारमध्ये २ सय २५ महिला प्रत्यक्ष उम्मेदवार छन् ।
यो जम्मा ९ प्रतिशत हो । राजधानीका १५ क्षेत्रमा ३ सय ६० उम्मेदवारमध्ये ५५ जना महिला छन्– दलका २९, स्वतन्त्र २६ । राजधानीका कुल प्रतिनिधिसभा उम्मेदवारमध्ये १५ प्रतिशत महिला छन् ।
प्रतिस्पर्धामा पूर्वसभामुख, मन्त्री र युवासमेत भएका छन् । काठमाडौं–२ मा तीन महिला उम्मेदवार चर्चामा छन् । माओवादीबाट पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका कुन्तीदेवी पोखरेल उपाध्याय र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमबीच तीव्र प्रतिस्पर्धा छ । तीन महिला उम्मेदवारको मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवार मणिराम फुयालसँग छ ।
रोल्पा घर भएकी घर्तीलाई ‘टुरिस्ट’ उम्मेदवारको आरोप प्रतिस्पर्धीले लगाएका छन् । तर, उनले विकास गर्न सबै भूगोल समान भएको बताएकी छन् । ‘काम गर्ने व्यक्तिलाई भूगोलले छेक्दैन, उम्मेदवार भइसकेपछि काठमाडौं–२ पनि उत्तिकै प्यारो छ,’ उनले भनिन् । उनले मुख्यतः सांसदको काम नीति, नियम र कानुन बनाउने भए पनि जनताको विकासप्रतिको तीव्र आकांक्षा पूरा गर्न सांसदले भूमिका खेल्न सक्नुपर्ने बताइन् ।
राप्रपाकी केन्द्रीय सदस्य पोखरेलको उद्यमी र समाजसेवा पृष्ठभूमि छ । उनी पहिलो पटक संसद्मा पुग्ने जर्मको गर्दै छिन् । बाहिरबाट आएका नेताले राजनीतिलाई व्यवसाय बनाएको आरोप लगाउँदै उनले राजनीतिमार्फत जनताको सेवा गर्ने दाबा गरेकी छन् । ‘टुरिस्ट नेताले यो क्षेत्रलाई रुकुम–रोल्पा बनाए,’ उनी भन्छिन्, ‘बाटो छैन, पानी छैन ।
यो देखेर आफ्नो ठाउँ आफैं बनाउन उठ्नुपरेको हो ।’ उनको निर्वाचन क्षेत्रमा पार्टी र स्वतन्त्र गरी ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । उनले प्रतिस्पर्धीमा विकासका दरिला एजेन्डा नभएको बताइन् । गैससकी महासचिव, जागरण महिला सशक्तीकरण अभियानकर्ता र गार्मेन्ट उद्योग व्यवसायीसमेत रहेकी कुन्तीदेवीले समाज विकासका सबै पक्षमा आफू योग्य रहेको बताइन् ।