Sat. Mar 1st, 2025

नेपाल भर्सेस पाकिस्तानः दशरथ रंगशालामा ५०औं अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

काठमाडौं – दशरथ रंगाशालामा सन् १९८४ मा औपचारिकरूपमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ५०औं खेल खेल्दैछ ।

साँझ ५ बजे सुरू हुने खेल नेपालका लागि मात्र नभई पाकिस्तानका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको छ । फिफा प्रतिबन्धमा परेको पाकिस्तान फुटबलले नेपालसँग प्रतिस्पर्धा गर्दै तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा नयाँ अध्यायको सुरूआत गर्दैछ ।

प्रि म्याच कन्फरेन्समा नेपालसँगको खेलले लामो समयपछि फुटबलमा फर्किएको पाकिस्तानको टीममा खेलाडी अनुसन्धान गर्ने अवसर मिल्ने पाकिस्तानका मुख्य प्रशिक्षक सहजाद अनवर बताएका थिए । यस्तै, उनले आजको खेलमा नेपाल विरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने पनि प्रतिकृया दिएका थिए ।

पाकिस्तान र नेपाल अन्तिम पटक सन् २०१८ मा ढाकामा आयोजना भएको साफ च्याम्पियनसिपमा आमनेसामने भएका थिए । उक्त खेलमा २(१ अन्तरमा पाकिस्तानविरुद्ध पराजित भएको नेपालक चार वर्षपछि नतिजा उल्टाउने लक्ष्यसहित मैदान उत्रिने छ । हालसम्म पाकिस्तानसँग १६ खेल खेलेको नेपालले ६ बराबरी पाँच जित र पाँच हारको नतिजा निकालेको छ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका कप्तान रोहित चन्दले पाकिस्तान खेल्नका लागि सधैँ गाह्रो प्रतिद्वन्द्वी भएपनि आजको खेलमा उच्च मनोबल लिएर मैदान उत्रिने साथै सकारात्मक नतिजा निकाल्ने विश्वास जनाएका थिए । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले कप्तानको जिम्मेवारी पाएका छन् ।

यस्तै, नेपालका प्रशिक्षक प्रवेश कटुवालले टीम छनोटमा थोरै समय भएपनि आफूले उत्कृष्ट खेलाडीहरू छनोट गरेर टीम बनाएको बताए । उनले आफूले टीम छनोटमा निर्णय लिएको भएकाले नतिजा जे आएपनि त्यसको भागीदार आफैँ हुने बताए ।

About The Author

अन्य समाचारहरु: