धादिङ– सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता एवं् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार थाक्रे र गल्छी गाउँपालिकाका बस्तीमा पुगेका छन् ।
घरदैलोकै क्रममा पुगेका पाण्डेसहित गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई मतदाताले फुलमालाले स्वागत गरेका छन् । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ उम्मेदवार पाण्डेले थाक्रेको कुचिलीभन्ज्याङ, गल्छीको बिर्ताडाँडा र कार्कीडाँडामा कोणसभा गरेका छन् ।
त्यस्तै प्रतिनिधिसभा २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी र प्रदेशसभा २ का उम्मेदवार गोविन्द लम्साल मंगलबार घरदैलोको क्रममा नीलकण्ठ नगरपालिका ५, खाल्टे पुगेका छन् । घरदैलोको क्रममा नीलकण्ठ ५ मा रहेको लामा गुफा, चमेरो गुफा र घुमाउने डाँडा लगाएतको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।