Thu. Nov 28th, 2024

मेरो स्वतन्त्र उम्मेदवारी कायम छ: टिकानिधि काप्री

धादिङ– धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार टिकानिधि काप्रीले आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् । समग्र देशको पार्टीहरुको अवस्थाको विरुद्ध उम्मेदवारी भएकोले आफ्नो उम्मेदवारी कायम नै राखेको उनले बताए ।

नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका काप्रीले मंगलबार पत्रकार सम्मेलन गरेर आफुलाई राष्ट्रिय नागरिक पार्टीको साथ रहेको जानकारी दिए । ‘ठूला दलका उम्मेदवारहरुप्रति जनताको सहानुभूति छैन । उनीहरुको काम गर्ने तौर तरिका जनताले मन पराएका छैनन्’, काप्रीले भने– ‘सानै दल भएपनि राष्ट्रिय नागरिक पार्टीको साथ मलाई छ र सबै जनताको साथ मलाई हुनेछ, जनता नै मेरो आधार हो ।’

काप्रीले खरायो चुनाव चिन्ह लिएर चुनाव प्रचार गरिरहेका छन् । यो निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार नभएकोले स्वतन्त्र उम्मेदवारलाई सघाउने निर्णय गरिएको राष्ट्रिय नागरिक पार्टीका जिल्ला अध्यक्ष बल बहादुर इटनीले बताए ।

नेपाली कांग्रेसले भने काप्रीलाई यसअघि नै कारबाही गरिसकेको छ । कोही कसैको लोभलालचमा परेर काप्रीले नियोचित ढंगबाट आफ्नै पार्टीका उम्मेदवार हराउने अभियानमा लागेको भन्दै कांग्रेसले कारबाही गरेको थियो । काप्रीको स्वतन्त्र उम्मेदवारीले कांग्रेस र गठबन्धनमा कुनै असर नपर्ने भन्दै काप्रीको उम्मेदवारीलाई कांग्रेसका नेता कार्यकर्ताले भने हासोमा उढाइरहेका छन् ।

About The Author

अन्य समाचारहरु: