
धादिङ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट वितरणको बिषयलाई लिएर नेतृत्वसंग रुष्ट बनेका नेपाली कांग्रेसका नेता दिलमान पाख्रीन चुनावी घरदैलोमा हिड्न थालेका छन् ।
उम्मेदवारी दर्ताको दिनदेखि नै कांग्रेस केन्द्रिय नेतृत्वसंग रुष्ट रहेका पाख्रीन शुक्रबारसम्म पार्टी र निर्वाचनका कुनै पनि गतिविधिमा संलग्न थिएनन् । केहिदिन अघि उत्तरी धादिङको किन्ताङफेदीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफ्नो माग पूरा नभए सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसकै रामनाथ अधिकारीलाई समेत असहयोग गर्ने घोषणा गरेका पाख्रीन केन्द्रिय नेतृत्वसंगको छलफलपछि चुनावी घरदैलोमा देखिएका हुन् ।
घरदैलोकै क्रममा शनिबार सांझ सल्यानटार पुगेका पाख्रीनले व्यक्तिभन्दा माथि पार्टी भएकाले सबै गठबन्धनका नेता कार्यकर्ता एकजुट भएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका छन् । सल्यानटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका पाख्रिनले पार्टीभित्रको दुखेसोलाई निर्वाचनको समयमा प्रकट नगरी मंसिर ४ गतेसम्म सबै एकजुट भएर निर्वाचन अभियानमा लाग्न आफ्ना समर्थकहरुलाई समेत आग्रह गरे ।
‘देशको सम्वृद्धि, लोकतन्त्रको रक्षा र स्थायित्वका लागि लोकतान्त्रिक वाम गठबन्धनको आवश्यकता छ । त्यसैले सबै कार्यकर्तालाई इमान्दारका साथ लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्न आग्रह गर्दछु’, उनले भने-‘रामनाथ अधिकारी र म २०५७ सालदेखि सँगै राजनीतिमा छौं । लोकतन्त्रमा कहिलेकाही तितामिठा कुरा हुन्छ । अधिकारीको उम्मेदवारीमा मेरो पूर्ण समर्थन रहनेछ ।’
सोही कार्यक्रममा बोल्दै संघीय क्षेत्र २ का उम्मेदवार रामनाथ अधिकारीले घरदैलोबाट आफूहरु उत्साहित रहेको बताए । ‘जनताका धेरै गुनासा र अपेक्षा छन् । ती गुनासा र अपेक्षा पूरा गर्ने वाचा आफूले जनताका माझ गरेको छु’ अधिकारीले भै ।
प्रदेश २ का उम्मेदवार जगत सिँखडाले जनताका साथ लोकतान्त्रिक वाम गठबन्धनलाई नै रहेको स्पष्ट पारे । जन अपेक्षित काम गर्न आफू उम्मेदवार बनेको बताउँदै सिँखडाले लोकतान्त्रिक वाम गठबनधनप्रति जनतामा विश्वास रहेको जिकिर गरे ।