Fri. Nov 29th, 2024

धेरै तातो खानेकुराले आन्द्रामा असर गर्छ डा : पौडेल

जाडोयाममा तात्तातो खाना खानुको स्वाद दोब्बर हुन्छ । तातो झोल, थुक्पा, कफी, चिया पिउँदा ज्यान तंग्रिएको अनुभव हुन्छ । बेलाबखत त हामीलाई यति धेरै तातो खानेकुरा चाहिन्छ कि मुखले सहनै नसक्ने खालको ।

तर धेरै तात्तातो खानाले मुख, जिब्रो, अन्ननली, पेटमा कुनै असर पो गर्छ कि हामीले यिनै जिज्ञासा राखेका छौं, पेट तथा कलेजो रोग विशेषज्ञ डा.विधाननिधि पौडेलसँग ।
यसले पाचनयन्त्रमा केही असर गर्छ
हामीले जुनसुकै खानेकुरा खाए पनि होमियोस्टासिसले सन्तुलनमा ल्याउँछ । होमियोस्टासिसको काम भनेको चिसो वा तातो खानेकुरा खाए पनि ३७ डिग्री सेल्सियसमा ल्याउनु हो । त्यसैले धेरै तातो खानेकुरा खाँदा दीर्घकालीन भन्दा पनि तत्काल स्वास्थ्य समस्या ल्याउन सक्छ ।
तातो खानेकुरा मुखमा प्रवेश गर्ने बित्तिकै मुखको छाला पोल्छ । तातो खानेकुरा निल्न गाह्रो भएर ओकल्ने पनि गरिन्छ । निश्चित तापक्रमसम्मको खाना त जिब्रोले सहन्छ पनि । तर गिजा वा मुखभित्रको छाला भने निकै संवेदनशील हुने भएकाले तातोले पिल्सिने हुन्छ ।
यस्तो खाना मुखमा धेरै समय राख्न सकिंदैन, घुटुक्क निल्छौं । अब यसले घाँटीमा असर गर्न सक्छ । पोल्ने वा घाउ बनाउने डर हुन्छ । खानानली, आमाशय र ठूलो आन्द्राका सतह अझ नरम र संवेदनशील हुन्छ । धेरै पोल्ने खानेकुराले यी सबैमा असर गर्नसक्छ ।
आमाशयमा पनि पचाउन एक किसिमको एसिड पैदा हुन्छ । यस्तो एसिड बढी भयो भने वा खानाको सन्तुलन मिलेन भने पेटमा अल्सर वा घाउ बनाउने जोखिम हुन्छ । त्यसैले धेरै तात्तातो खानेकुुरा खाँदैमा शरीर तात्ने होइन ।

कसरी वा कति तापक्रमको खाने त
जाडोमा कफी, चिया, सुप, थुक्पा आदि धेरै तात्तातो खाने गरिन्छ । मुख नै पोल्नेगरी तातो खानु हानिकारक छ । सकेसम्म मुखले सहने तातो खानुपर्छ । त्यो पनि एकक्षण मुखमा खेलाएर मात्र निल्नुपर्छ ।

एकदमै तातो खानाले दाँतमा असर गर्छ
हो, दाँत पनि निकै संवेदनशिल हुन्छ । धेरै चिसो वा धेरै तातो खानेकुराले दाँतमा प्रत्यक्ष असर गर्छ । तपाईं जुनसुकै खानेकुरा खानुहोस्, त्यसको असर दाँतलाई नै पर्ने हो ।

धेरै तातो पेय वा खानेकुराले दाँतको प्राकृतिक इनामेल नष्ट गर्न सक्छ । यसले गर्दा दाँत बिस्तारै कमजोर हुने, खिइने, मक्किने हुनसक्छ ।

एकदमै तातो खानेकुरालाई जिब्रोले कसरी सहन्छ

तातो खानेकुरा खाने बित्तिकै सबैभन्दा पहिला हानि गर्ने भनेकै जिब्रोमा हो । जिब्रोको छाला नै पोल्ने, उप्किने हुनसक्छ । तपाईं आफैंले अनुभव गर्न सक्नुहुन्छ, एकदमै तातो खानेकुरा खाएपछि जिब्रो लाटिने हुन्छ । यस्तो स्थिति केही दिनसम्म पनि रहन सक्छ ।

धेरै तात्तातो खानेकुरा पचाउन गाह्रो हुन्छ
पचाउनकै लागि त खास समस्या हुँदैन । किनभने पचाउने अवस्थासम्म आइपुग्न धेरै समय गुज्रिनुपर्ने हुन्छ । मुख, घाँटी, खानानली, आमाशय हुँदै अगाडि बढ्दा खानाको तापक्रम सन्तुलित भइसक्छ ।

खाना पेटमा पाँच घण्टासम्म रहन्छ । तबसम्म शरीरले तातो वा चिसो सहन सक्ने सन्तुलन बनाइसकेको हुन्छ । यद्यपि धेरै तात्तातो खानेकुराले ग्याष्ट्रिकको समस्या निम्त्याउँछ ।

कति तातो खानेकुरा खाने भन्ने कुनै मात्रा छ
हाम्रो शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । ३७ देखि ५० सम्मको तापक्रम भएको खानेकुरा सेलाएर वा मनतातो बनाएर खान सकिन्छ ।

डा. विधाननिधि पौडेल पेट तथा कलेजोरोग विशेषज्ञ हुन् । रुसबाट ग्याष्ट्रोइन्टरोलोजीमा एमडी गरेका उनी सिभिल अस्पतालका कार्यकारी निर्देशक समेत हुन् ।

About The Author

अन्य समाचारहरु: